ठेकेदारको लापरबाहीले अलपत्र लोकतान्त्रिक सिँचाइ कुलो

11.8k Shares

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना ठेकेदारको वदमासीका कारण वर्षो देखि अलपत्र अवस्थामा रहेको छ । यसको तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । 

कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरको रु सात करोड ७२ लाख लगानीमा निर्माण सुरु गरिएको सिँचाइ कुलो आयोजना ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको भन्दै तत्काल काम अगाडि बढाउन स्थानीयले माग गरेका हुन् । 

निर्माणाधीन अवस्थामै अलपत्र परेको सिँचाइ कुलो आयोजनाको काम तत्काल सञ्चालनमा ल्याउनका लागि पहल गरिदिन बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङ र जिल्ला समन्वय समिति खोटाङमा ज्ञापनपत्र बुझाइएको स्थानीय रामप्रसाद दङ्गालले बताउनुभयो । “निक्कै ठूलो कसरतले स्वीकृत भएको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र छ । निर्माणाधीन अवस्थामै आयोजना अलपत्र पर्दा राज्यकोषको रकमसमेत खेर जाने अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “विभिन्न कारण देखाएर ठेकेदार कम्पनी उन्मुक्ति लिन खोजिरहेका छन् । बेँसी क्षेत्रमा बसोबास गर्ने कृषकको भविष्यसँग जोडिएको सिँचाइ कुलो आयोजनाको काम पुनःसञ्चालनमा नआएको खण्डमा चरणवद्ध आन्दोलन गर्छौँ ।”

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा नेपाली कांग्रेस खोटाङका नेता केशवकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० खोटाङका पूर्वअध्यक्ष दङ्गाल र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० खोटाङका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले संयुक्त हस्ताक्षर गर्नुभएको छ । आफूहरूले राजनीतिक दलको तर्फबाट नभइ स्थानीय उपभोक्ता भएको नाताले ज्ञापनपत्र बुझाएको उहाँहरूले भनाइ छ ।  

जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभयो । “करोडौँ लगानीको आयोजना अलपत्र छ भन्ने जानकारी आएको छ । हामी स्थलगत अनुगमन पनि गर्छौँ”, उहाँले भन्नुभयो, “अनुगमनले आयोजना अलपत्र पर्नुको कारण पत्ता लाग्छ । ठेकेदारको लापरबाहीकै कारण काम नभएको हो भने कारबाहीका लागि सिफारिस गर्छौँ ।” 

तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनी स्काई–विवश–रामसागर जेभीले ठेक्का लिएको आयोजनाको लागि अन्तिमपटक थपिएको म्याद आगामी चैत–१६ गतेसम्म रहेकाले पुनःकाममा फर्काएर आयोजनाको काम सम्पन्न गर्न लगाउनेगरी समन्वय भइरहेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख डा महेश यादवले बताउनुभयो । “लोकतान्त्रिक सिँचाइ कुलो आयोजनाको काम पेटी ठेकेदारमार्फत भएको रहेछ । उसले काम गर्न नसकेपछि मुख्य ठेकेदारसँग सम्पर्क गरेका छौँ । मुख्य ठेकेदार कम्पनीका प्रतिनिधिले तोकिएको काम जसरी पनि सम्झौता मितिभित्र पूरा गर्नुपर्ने हुन्छ । यदि पूरा नगरेको खण्डमा धरौटी जफत गरेर कानूनी प्रक्रिया अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार