काठमाडौं । एक जना व्यापारीलाई बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरीसहितको मिलेमतोमा ३० लाख रुपैयाँ असुली गरेको घटनाको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्ने भएको छ ।
ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही जोडिएको ‘हनी ट्र्याप’ प्रकरणमा नेपाल प्रहरीका एसपी कमल थापा पनि जोडिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको छ । सीआईबीले मंगलबारदेखि नै यस विषयमा अनुसन्धान थालिसकेको छ ।
गम्भीर प्रकृतिको घटनाको अनुसन्धान गर्दै आएको सीआईबीले हनी ट्र्याप’boutको घटना अनुसन्धान गर्न लागेको यो पहिलोपटक हो ।
सीआईबीका प्रमुख एआईजी दीपक थापाले यस प्रकरणको ‘नेक्सस’ विभिन्न जिल्लासँग जोडिएकाले मंगलबारदेखि नै सीआईबीका तर्फबाट अनुसन्धान थालिएको बताए । यस घटनामा पक्राउ परेका सबै जना र अनुसन्धानका अहिलेसम्मका फाइल झिकाएर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।
प्रहरी प्रधान कार्यालय र ललितपुर प्रहरीले बनाएको छानबिन समितिको निचोडलाई समेत आधार बनाएर अनुसन्धान हुनेछ,’ सीआईबीका प्रमुख एआईजी थापाले भने ।
सीआईबीका एसपी होबिन्द्र बोगटीले यो घटना अनुसन्धान गर्न एक टोली बनाइएको र टोलीले काम थालिसकेको जानकारी दिए । प्रहरी प्रधान कार्यालयले गरेको जाँचमा पनि केही नयाँ तथ्य खुलेको र ती सबै विषयमाथि जाँच थालिएको ब्युरोका अधिकृतहरूको भनाइ छ ।
युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको यस प्रकरणमा अहिले चार जना प्रहरीको हिरासतमा छन् । ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हबलदार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
संगठित अपराधमा प्रहरीले प्रतिवादीहरूलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । ललितपुर प्रहरीले एक महिनाभन्दा बढी समय लगाएर उनीहरूमाथि अनुसन्धान गरिसकेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अनुसन्धानका लागि पक्राउ परेका चारै जना व्यक्ति र मिसिल बुधबार सीआईबीलाई पठाएको बताए । ‘संगठित अपराधको कसुरमा हामीले पनि अनुसन्धान गरिरहेका थियौं तर यसमा सिनियर अफिसरको पनि संलग्नता र अन्य जिल्लामा पनि घटना भएको कुरा आएकाले हामीले सीआईबी पठाएका हौं,’ ललितपुर प्रहरी प्रमुख एसएसपी खनालले भने ।
इन्सपेक्टर शाही मुछिएको ‘हनी ट्र्याप प्रकरण’मा एसपी थापा पनि मुछिएपछि उनलाई यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो । आजको राजधानी दैनिकबाट