राष्ट्रिय झण्डा सिलाउने पेसामा रमाएका इद्रिसी

10.9k Shares

खजुरा । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, फुल्टेक्रा रोडमा टेलर पसल सञ्चालन गर्दै आउनुभएका ७२ वर्षीय अनवर अली इद्रिसी नेपाली राष्ट्रिय झण्डा सिलाउने पेसामा वर्षौंदेखि रमाइरहनुभएको छ ।

“मेरो बाजे, बुवादेखि नेपाली राष्ट्रिय झण्डा सिलाउने पेसामा हुनुहुन्थ्यो, मैले पनि सानैदेखि यो सीप सिकेँ, सीप सिकेपछि मैले पनि यही पेसालाई व्यावसायीक रुपमा अगाडि बढाएको छु ।,” इद्रिसीले भन्नुभयो, “अब म पछि भने यो पेसा यहीँ समाप्त हुनेभो, छोराले झण्डा सिलाउने पेसा गर्दैन, अन्य पेसामा हात हालेको छ ।”

“मैले आफैँले झण्डा सिलाउने पसल सुरु गरेको ४० वर्ष पुग्यो, सुरुमा कमाइ राम्रै थियो, झण्डा सिलाएर पुर्याउनका लागि देशका विभिन्न जिल्लाका कुनाकुनामा पुगेको छु, पहिला नेपालगन्जमा मैले मात्र झण्डा सिलाउँथे, अहिले अर्को एउटा पसल पनि थपिएको छ ।,” इद्रिसीले भन्नुभयो, “पहिला जस्तो कमाइ पनि अहिले छैन, अर्डर पनि धेरै आउन छोड्यो, सायद छोराले यही भएर पनि होला यो पेसामा हात हालेन ।”

“पहिला राजाका पालामा सिलाएको झण्डा बोकेर देशका धेरै जिल्लामा पुगेको छु, राजाको सवारी हुँदा स्वागतका लागि गेट बनाइन्थ्यो, बनाइएका गेट र राजा जाने ठाउँमा जताततै राष्ट्रिय झण्डा लगाउने चलन थियो ।,” उहाँले भन्नुभयो, “स्वर्गीय राजा वीरेन्द्रसँग ३÷४ पटक भेट पनि भयो, दिपायल, धनकुटा, सुर्खेत, धरान, पाल्पा लगायत धेरै ठाउँमा राजाको सवारीमा झण्डा लगेर पुगेको छु, सुर्खेत जाँदा त आर्मीको हेलिकप्टरमा झण्डा लगेर गएको थिएँ, अन्तिम पटक २०४० सालमा पाल्पाको तानसेनमा राजाको सवारी हुँदा यहाँबाट झण्डा लगेर पुगेको थिएँ, राजालाई मैले नेपाली राष्ट्रिय झण्डा बनाउँछु भनेँ राजाले टाउको हल्लाउनुभयो ।”

झण्डा सिलाउनका लागि विभिन्न जिल्लाका सरकारी कार्यालय तथा संघसंस्थाबाट अर्डर आउने गरेको तथा स्टेशनरी पसलबाट पनि अर्डर आउने गरेको उहाँले बताउनुभयो । झण्डा लगाउने कतिपय सरकारी कार्यालय तथा संघसंस्थाले झण्डाको साइजको मापदण्ड समेत थाहा नभएको आफूले पाएको उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार