अर्बपति मस्कलाई फिलाडेल्फियाको एक अदालतमा उपस्थित हुन आदेश

10.7k Shares

वासिङ्टन । अर्बपति एलन मस्कलाई बिहीबार फिलाडेल्फियाको एक अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।

फिलाडेल्फियास्थित अदालतका एक न्यायाधीशले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धात्मक हुने देखिएका राज्यहरूमा दर्ता भएका अमेरिकी मतदाताहरूलाई दिने भनी घोषणा गरिएको १० लाख अमेरिकी डलरको उपहारको कार्यक्रम रोक्न माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइमा उपस्थित हुन आदेश दिएका छन् ।  

फिलाडेल्फियाका मुख्य अभियोजक ल्यारी क्रास्नरले मस्कको परियोजनालाई ‘अवैध चिट्ठा योजना’ भन्दै सोमबार मुद्दा दायर गरेका थिए ।

न्यायाधीश एनी मेरी कोयलले भनिन्, “सुनुवाइको समयमा सबै पक्ष उपस्थित हुनुपर्ने आदेश जारी गरिएको छ।”

मस्कले यसै महिना दैनिक प्रतिस्पर्धाको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । मस्कले ५ नोभेम्बरमा हुने चुनावसम्म व्यापक प्रतिस्पर्धा रहेका सात राज्यमा दैनिक एक मतदातालाई १० लाख अमेरिकी डलर अर्थात् पुरस्कार दिने घोषणा गरेका छन् ।

यो योजनाअन्तर्गत विजेताको छनोट डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने मस्कको ‘अमेरिकन पीएसी’ नामक समूहको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नेहरूबाट गरिनेछ । यसका लागि योग्य मतदाता हुनु अनिवार्य छ ।

पेनसिल्वेनियामा मस्कले यस्तो गर्नेहरूलाई १०० डलर दिइरहेका छन् । अरूलाई रिफर गर्नेलाई थप १०० डलर दिइरहेको छ भने राज्यहरूमा अरूलाई मतदान गर्न रिफर गर्नेहरूलाई ४७ डलर दिइएको छ ।

सम्बन्धित समाचार