भारतमा हत्या गरिएका को हुन् बाबा सिद्दिकी ?

15.3k Shares

काठमाडौं । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली प्रहार गरिएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।

उक्त घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमार्फत बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए ।

मुख्यमन्त्री शिन्देले यो घटनामा दुईजनालाई पक्राउ गरिएको र एक फरार रहेको बताए । पक्राउ पर्नेमा एकजना हरियाणा र एक उत्तर प्रदेशका हुन् ।

झन्डै ४८ वर्षदेखि भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध बाबा सिद्दिकी यसै साल फेब्रुअरीमा एनसीपी (अजीत पवार गुट)मा सामेल भएका थिए ।

राजनीति र बलिउड दुवैमा प्रभाव

राजनीतिमा बाबा सिद्दिकीले जति प्रभाव थियो, बलिउडमा पनि उत्तिकै रहेको बताइन्छ ।

उनी १६–१७ वर्षको उमेरदेखि नै कांग्रेससँग निकट रहेका थिए । सन् १९९२ र १९९७ मा उनी कांग्रेसको टिकटमा ‘मुम्बई सिविक बडी’का निम्ति निर्वाचित भए ।

बाबा सिद्दीकी १९९९ मा बान्द्रा (पश्चिम)बाट विधायक निर्वाचित भएका थिए । २००४ र २००९ मा पनि उनले कांग्रेसको टिकटमा सोही सिटबाट चुनाव जितेका थिए । सिद्दीकी २००४ देखि २००८ सम्म महाराष्ट्रको विलासराव देशमुख सरकारमा खाद्य आपूर्तिमन्त्री बनेका थिए ।

उनी सन् २०१४ देखि मुम्बई कांग्रेस कमिटीका उपाध्यक्ष थिए । सिद्दीकी सन् २०००–२००४ सम्म महाराष्ट्र हाउजिङ एन्ड एरिया डेभलपमेन्ट अथोरिटीका अध्यक्ष पनि थिए ।

२०१७ मा ईडीले मनी लाउन्ड्रिङ मुद्दामा बान्द्रामा बाबा सिद्दिकीसँग जोडिएको परिसरमा छापा मारेको थियो । त्यसपछि उनी राजनीतिक रूपमा धेरै सक्रिय भएनन् । उनका छोरा जीशान मात्र बढी सक्रिय थिए ।

२०१४ मा सिद्दीकी बान्द्रा पूर्वबाट भाजपासँग हारेका थिए । तर, २०१९ मा उनका छोरा जीशान सिद्दीकी विजयी भएका थिए । बीबीसी हिन्दीबाट ।

सम्बन्धित समाचार