अनुशासन भनेको के हो त ? अनुशासनले सार्थक जीवनमा कसरी प्रभाव पार्छ ? यसको विषयमा मनन गरौँ । अनुशासन धेरै ठाउँमा धेरैपटक सुनिने शब्द हो । विद्यालयमा, कार्यालयमा, पार्टीमा, संगठनमा, संघसंस्थामा, खेलकुदमा, पुलिसमा, सैनिकमा, समाजमा, राज्यमा जताततै अनुशासनको कुरा चल्छ । विद्यालयमा विद्यार्थीहरूलाई अनुशासनको कुरा घोकाएर पढाइन्छ । कार्यालयमा अनुशासनका उक्तिहरू लेखेर टाँसिएका हुन्छन् । प्रहरी, सैनिकमा त लहु अनुशासन नै लागु हुन्छ । खेलकुदमा त विकास, अनुशासन र गतिशिलता भन्ने नारा नै छ । पार्टीमा, नेता–कार्यकर्तामा अनुशासनको कुरा थुप्रै चल्छ । संघसंस्था, संगठन सबैमा अनुशासनकै कुरा हुन्छ । हामीले अनुशासन उलङ्घन भएको भनेर कारवाही चलेका कुरा पनि धेरै सुन्दै आएका छौँ । अनुशासनको क्षेत्र त्यति मात्र कहाँ हो र ? परिवार, समाज अनि राज्य सञ्चालनका विभिन्न अंगमा पनि अनुशासनको चर्चा हुने गर्छ । यसले अनुशासनको विशाल क्षेत्रलाई मज्जाले चित्रण गर्छ र अधिकतम महत्वलाई पुष्टि गर्छ । अनुशासनले सन्तुलन कायम गर्छ । सन्तुलनले स्वस्थता कायम गर्छ । स्वस्थताले सार्थक जीवनको लागि मार्ग प्रशस्त गर्छ । बुद्ध भन्नुहुन्छ, सुखी जीवनको लागि पालना गर्नुपर्ने आचरण ‘शील’ हो । बुद्धले शीलको रूपमा अनुशासनको महत्वलाई पुष्टि गर्नुभएको देखिन्छ ।
अनुशासनको परिभाषा सिधा भन्नुपर्दा, जे गर्नुपर्ने हो, त्यो गर्नु र जे नगर्नु पर्ने हो त्यो नगर्नु नै अनुशासन हो । जस्तो कर्मचारीहरू समयमै कार्यालयमा पुग्नु, निर्धारित पोसाक लगाउनु, तोकेको काम गर्नु अनि सेवाग्राहीलाई दुःख नदिनु, बेइमानी नगर्नु, अनियमितता नगर्नु इत्यादि कार्यालयको अनुशासन हो । देश र जनताको रक्षा गर्नु, देशको संविधानप्रति वफादार हुनु, राष्ट्र र जनताको सेवामा लाग्नु, धोका नदिनु राज्यको अनुशासन हो । प्रकृतिको नियमलाई अंगिकार गर्नु प्राकृतिक अनुशासन हो । त्यस्तै खेलको नियम पालना गर्नु खेलाडीको अनुशासन हो । सामाजिक मूल्य मान्यतामा रहनु सामाजिक अनुशासन हो । त्यस्तै परिवारको मर्यादाभित्र रहनु पारिवारिक अनुशासन हो । शरीरको स्वतन्त्र प्रक्रियालाई बाधा नपु¥याउनु शारीरिक अनुशासन हो । जबसम्म सन्तुलन कायम रहन्छ, तबसम्म समस्या देखा पर्दैन । अनुशासनहिनताले सन्तुलन बिग्रिन्छ र समस्याको जन्म हुन्छ । त्यसैले समस्या आउन नदिन सन्तुलन जोगाउनु जरुरी छ, सन्तुलन जोगाउन अनुशासन अपरिहार्य हुन्छ । त्यसैले अनुशासन र सन्तुलनलाई एक किसिमले एकअर्काको पर्याय मान्न सकिन्छ । मानव शरीरमा मस्तिष्को जति महत्व छ, त्यति नै जीवनपद्वतिमा अनुशासनको महत्व छ । त्यसैले अनुशासनलाई सबै क्षेत्रको मस्तिष्क हो भनिन्छ । एकक्षण कल्पना गरौँ । प्रकृतिको सन्तुलन बिग्रियो भने के होला ? राज्यको अनुशासन भंग भयो भने के होला ? पुलिस, सैनिकभित्रको अनुशासन गुम्यो भने कस्तो अवस्था होला ? त्यस्तै पार्टीको, कार्यालयको, समाजको, परिवारको, शरीरको अनुशासन भंग भयो भने कहाँ के होला ? सहजै बुझ्न सक्छौँ, विनाश हुन्छ, ध्वंश हुन्छ, नालायक बन्छ । यसलाई क्रमागत रूपमा बुझौँ ।
प्राकृतिक अनुशासन भंग भयो भने प्रकृति असन्तुलित हुन्छ । सन्तुलनमा रहने प्रकृतिको स्वभाव भएको कारण सन्तुलन कायम गर्न विनाश, प्रलय जस्ता भयानक घटनाहरू प्रारम्भ हुन्छ । जुन कल्पना मात्र गर्दा पनि शरीर सिरिङ्ग हुन्छ । सुनामीको रूपमा, भुकम्पको रूपमा, आँधी, पहिरो, खडेरी, ज्वालामुखी इत्यादिको रूपमा प्राकृतिक विध्वंश हुन्छ । अनि सन्तुलनको प्रक्रिया पनि प्रारम्भ हुन्छ । देश हाँक्ने नेताहरू अनुशासनहीन भए भने, पागल भए भने, क्रोधी शासक बन्छ । संविधान, कानुन कागजमा मात्र सिमित हुन्छ । विधि समाप्त हुन्छ र न्याय समाप्त हुन्छ । देश लथालिङ्ग, जनतामा दुःख, अशान्ति पैmलिएर सबै भद्रगोल हुन्छ । सम्भवत देश नै बिलाउन सक्छ । कुनै पनि खेलमा खेलाडीहरूको अनुशासन हरायो भने खेल नै हुँदैन, अर्कै रूप बन्छ । पुलिस र सैनिक संगठनभित्रको अनुशासन भंग भयो भने कति डरलाग्दो हुन्छ ? त्यस्तै सामाजिक अनुशासन बिग्रियो भने समाज अस्तव्यस्त हुन्छ, सामाजिक मर्यादा हराउँछ, सद्भाव हराउँछ, सामाजिक संरचना नै हराउँछ । त्यस्तै परिवारको अनुशासन बिग्रियो भने परिवार विखण्डन हुन्छ । शारीरिक अनुशासन कायम भएन भने शारीरिक कष्ट शुरु हुन्छ, जीवनकै ठेगान हुँदैन् । अतः हामी स्वस्थ रहने हो भने, समाज, राष्ट्र, परिवार सुन्दर होस् भनेर चाहना राख्ने हो भने अनुशासनलाई आत्मसात गर्नु बाहेक हामीसँग अर्को विकल्प छैन । जहाँ अनुशासन त्यहाँ समृद्धि, जहाँ अनुशासन त्यहाँ सुन्दरता छ । मानव सभ्यताको विकासमा अनुशासनको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । अतः मानसिक र शारीरिक स्वस्थताको लागि, राष्ट्रको समृद्धिको लागि, सार्थक जीवन र मानवताको लागि अनुशासन अत्यन्त अनिवार्य विषय मान्न सक्छौँ । अनुशासनले दिएका राम्रा पक्षहरू र अनुशासन उलङ्घनले निम्त्याएका थुप्रै विध्वंशका घटनाहरू इतिहासमा भेटिन्छन् । अनुशासनलाई दुई पाटामा विभाजन गरी बुझ्नु जरुरी हुन्छ । पहिलो स्वअनुशासन र दोश्रो बाह्य अनुशासन ।
स्वअनुशासनः आफूले आफैको लागि गरिने अनुशासन स्वअनुशासन हो । स्वअनुशासन भनेको व्यक्तिगत अनुशासन हो । स्व अनुशासनलाई योगको भाषामा ‘नियम’ भनिन्छ । आफ्नो लागि गरिनुपर्ने सम्पूर्ण कर्महरू गर्नु र त्याग्नुपर्ने सबै कर्महरू त्याग्नु व्यक्तिगत अनुशासन हो । बिहान सबेरै उठ्ने, मन तातो पानी पिउने, नित्यकर्म गर्ने, नुहाउने, टहल्ने, योग व्यायाम गर्ने, उचित भोजन लिने, आवश्यक पानी पिउने, शरीर अनुकुलको कपडा लगाउने, उचित कर्म गर्ने, बेलुकी सुत्नुअघि खुट्टा धुने अनि समयमै सुत्ने । यी हुन् साधारणतया दैनिक रूपमा पालना गर्नुपर्ने व्यक्तिगत अनुशासन । बिहान सबेरै उठ्ने र बेलुकी चाँडै सुत्ने गर्नुपर्छ भन्ने धर्मग्रन्थहरूमा पनि उल्लेख गरेको पाइन्छ । यो विज्ञानको पनि मान्यता हो । धर्मग्रन्थ भन्छ, बिहानको पहिलो प्रहर (३ बजेदेखि सुर्योदय हुनु पूर्व) प्राणवायुको प्रवाह बढ्ने हुन्छ, विज्ञान भन्छ, बिहान सबेरै शुद्ध अक्सिजनको प्रवाह बढ्ने हुँदा सुर्योदय हुनुभन्दा अगावै उठेर टहल्नु पर्छ । प्राणवायुले शरीरलाई शुद्ध राख्न सहयोग गर्छ र प्राणको रक्षा गर्छ । त्यसपछिको हाम्रो काम भनेको शौच गर्नु हो । शरीरमा बनेका विजातिय तत्वहरूलाई फाल्नु र शरीरलाई शुद्ध बनाउनु अनिवार्य नित्य कर्म नै हो । यसलाई समयमै फाल्नुपर्छ, ढिलो गर्नुहुँदैन । जति ढिलो भयो, उति नै समस्याको सम्भावना बढ्दै जान्छ । फोहोरले त आफ्नो रूप देखाउँछ । पिसाब समयमा भएन भने समस्या कति जटिल हुन्छ, हामी सबैलाई ज्ञात छ । त्यस्तै दिसा समयमा गरेन÷भएन भने पेटमा समस्या उत्पन्न हुन्छ र शुरुमा अम्लपित्त देखापर्छ । शौच गर्ने बेला एकाग्रता आवश्यक पर्छ । शौचको बेला कोही पत्रिका पढ्ने, कोही चुरोट खाने, आजकल त मोबाइल चलाउने बानी परेको देखिन्छ । यो असाध्यै खराब बानी हो । औषधि विज्ञानका अनुसार साधारणतया तीन मिनेटभित्र शौच समाप्त हुनुपर्छ । पाँच मिनेटसम्मको मध्यम हो भने सोभन्दा धेरै समय लाग्नु समस्या नै हो अनि चुरोट खाँदै, मोबाइल चलाउँदै, पत्रिका पढ्दै शौच गर्ने विचारले पहिले नै लामो समयसम्म शौचालयमा बस्ने मानसिक रूपमा तयार भएर शौच गर्दा छिटो हुने त कुरै भएन् । सम्भ्रान्त वर्गका कोहीकोहीले त शौचालयमा समेत टेलिभिजनको व्यवस्था गरेको देखिन्छ । यो बानीले दिसा खलास नहुने कब्जियतको जन्म हुन्छ । औषधि विज्ञान भन्छ, कब्जियत रोगको जननी हो । विज्ञानका अनुसार मानिस खानाबिना धेरै दिनसम्म बाँच्न सक्छ तर पिसाब रोकेर चौबिस घण्टा पनि बाँच्न सम्भव छैन । दिसा रोकेर केही दिन मात्र धान्न सक्छ ।
शरीर गतिशील छ, त्यसैले शरीरलाई निरन्तर गतिशिलता आवश्य छ । गतिशीलताले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ । त्यसैले बिहान सबेरै टहल्नुपर्छ, योग, व्यायम गर्नुपर्छ भन्ने स्वास्थ्य विज्ञानको मान्यता रहेको छ । स्वास्थ विज्ञानको अनुसार एकजना वयस्क मानिस कम्तिमा दैनिक तेह्र कि.मि.का दरले हिँड्ने गर्नुपर्छ । बिहान सबेरै मन्दिर जाने हाम्रो परम्परा यसैको कारणले चलेको मान्न सकिन्छ । मन्दिर जाँदा मानसिक र शारीरिक सन्तुलन कायम हुने कुरा हाम्रो पुर्खाले राम्ररी जानेका थिए । हिँड्नु, योग, व्यायम गर्नुले तीन किसिमबाट स्वास्थ्यमा राम्रो प्रभाव पारेको हुन्छ । पहिलो त स्वासप्रश्वासको गति बढ्ने हुँदा फोक्सोको काममा सन्तुलन कायम हुन्छ, जसले शरीरमा अक्सिजनको पर्याप्त पूर्ति हुन्छ । दोस्रो, शरीरका अङ्गहरू, नशाहरू, मांसपेशीहरूमा ताजापन कायम गर्छ, जसले शारीरिक तन्दुरस्तीमा सहयोग पुग्छ । यसले नसानसामा जमेका विजातिय तत्वलाई बाहिर निकाल्न मद्दत गर्छ । जसरी फोहोरको कारण पानीको नालीमा पानीको प्रवाह सुचारू हुँदैन, पानी जम्न थाल्छ । जमेको पानीमा किटाणुको विकास हुन्छ अनि नाली दुर्गन्धित हुन्छ, पानी दुर्गन्धित हुन्छ, वरपर समस्या हुन्छ । समस्याबाट मुक्त हुन नालीलाई खोल्नुपर्छ, पानीको प्रवाहलाई सुचारू गर्नैपर्छ । यो खोल्नको लागि उपकरणको प्रयोग हुनसक्छ, पानीको फोहराको प्रयोग हुनसक्छ । तेस्रो पक्ष भनेको मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ । अर्को महत्वपूर्ण पक्ष भनेको खानाबाट शरीरमा उन्पन्न हुने ग्लुकोजको पूर्ण सदुपयोगको लागि पनि व्यायाम अति आवश्यक पर्छ । जब शरीरभित्र ग्लुकोज खर्च नभई जम्मा हुन्छ, तब रोग प्रारम्भ हुन्छ । आजको आधुनिक युगमा नयाँनयाँ रोगको पहिचान पनि हुन थालेको छ, उपचारको पद्धति पनि विकसित हुँदै आइरहेको छ तर सधैँ उपचारमा चुनौती कायम नै छ । चिकित्सकले बिरामीलाई बिहान टहल्ने, व्यायम गर्ने सल्लाह दिएकै हुन्छ । व्यायम पनि सन्तुलित नै हुनुपर्छ । बुद्धको समयमा शरीरलाई दुःख दिएर, खानपिन छोडेर गरेको ध्यान, तपस्याले मात्र उपलब्धि हुन्छ भन्ने आम विश्वास थियो । प्रारम्भमा सिद्धार्थ गौतम पनि यसैको शिकार भएका थिए । सिद्धार्थ गौतम पनि अन्न, जलत्याग गरेर ध्यानमा लिन भए । जसले शरीर यति कमजोर भयो कि उनी ढल्न पुगे तर ज्ञान प्राप्त भएन् । त्यसपछि सिद्धार्थ गौतमले गलत परम्पराको बाटोलाई छोड्नुभयो, जल, अन्न ग्रहण गर्नुभयो र ध्यानलाई अझ मजबुत बनाउँदै लानुभयो । अन्ततः ज्ञान प्राप्त भयो । त्यसैले बुद्ध भन्नुहुन्छ, ‘शरीरको प्रकृति अनुरूप आवश्यक व्यायाम गर्नुपर्छ । शरीरलाई नोक्सान पुग्ने गरी गरिने व्यायमले फाइदाभन्दा हानी पु¥याउँछ ।’ बुद्धले शारीरिक व्यायाम मात्र होइन मनमा उठ्ने विचारको प्रभावहिनताको अभ्यासलाई पनि व्यायामको रूपमा व्याख्या गर्नुभयो । त्यो ‘सम्यक व्यायाम’ हो ।
स्वस्थ शरीरको लागि भोजनको पनि उतिकै महत्व छ । शरीरको भित्री र बाहिरी अङ्गहरूको नियमित कार्यको लागि शक्तिको आवश्यक हुन्छ । शरीरले खानाबाट शक्ति प्राप्त गर्छ । त्यसैले शरीरलाई नियमित खानाको साथै पानीको जरुरत हुन्छ । शक्तिको आवश्यक परेपछि शरीरले स्वतः खानाको माग गर्छ । भोक लाग्नु त्यसैको परिणाम हो । शरीरमा पानीको आवश्यकता पर्दा प्यास लाग्छ । खाना र पानी नियमित आपूर्ति नहुँदा शरीरको सन्तुलन बिग्रन्छ र समस्या उत्पन्न हुन्छ । त्यसैले त मानव शरीरलाई अन्न पानीको शरीर भनिन्छ । तर खाना खाने र पानी पिउने पनि उचित समय हुन्छ । त्यसलाई आत्मसात गर्नु पनि अनुशासन नै हो । सन्तुलित शरीरको लागि सन्तुलित भोजनको आवश्यकता पर्छ । शरीरलाई चाहिने जति उपयुक्त भोजन गर्नु र पानी पिउनु सन्तुलित भोजन हो । धेरै भोजनले शरीरभित्र विजातिय तत्वहरूको थुप्रो लाग्छ, अनावश्यक रूपमा शरीरको वजन बढ्छ र शारीरिक समस्या प्रारम्भ हुन्छ । त्यसैले भन्ने गरिन्छ, ‘