खसीबोका र च्यांग्राको मूल्य सस्तियो

13.2k Shares

काठमाडौं । गत वर्ष दसैंमा ल्याइएका खसीबोका बिक्रीवितरण गर्न नसकेपछि खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपालि खसीबोका र च्यांग्राको मूल्य घटाएको छ ।

विगतका वर्षभन्दा खसीबोका र च्यांग्राको माग घट्दै गएपछि निजी क्षेत्रले पनि मूल्य घटाइरहेको छ । सरकारको कम्पनीका रूपमा रहेको खाद्यले भने दसैंमा मूल्य एकरुपता ल्याउन खसीबोकाको मूल्य निर्धारण गरी बिक्रीवितरण गर्दै आएको छ ।

मासु खाने पुस्ताका रूपमा रहेका युवापिंढी मुलुकबाहिर र मुलुकभित्र आर्थिक मन्दी छाएकाले मासुको माग घट्दै गएपछि खसीबोका र च्यांग्राको मूल्य घटाइएको हो ।

यस वर्ष जिउँदो खसीबोकाको मूल्य ६ सय ७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्यांग्र्राको प्रतिकेजी १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ । यसमा पनि १० रुपैयाँ छुट दिने खाद्यले जनाएको छ । गत वर्ष खाद्यले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० कायम गरेको थियो भने च्यांग्राको मूल्य प्रतिकिलो १ हजार २ सय ६० रुपैयाँ निर्धारण गरेको थियो ।

यसपालिका लागि १ हजार ५ सय खसीबोका बिक्री गर्ने तयारी खाद्यको छ । च्यांग्रा ३ सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । शनिबार खसीबोका थापाथलीमा झारिए पनि च्यांग्रा भने ल्याइएको छैन । खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंमा बेच्न मकवानपुरबाट २ सय ८ वटा खसीबोका ल्याइएको जनाएको छ ।

खाद्यले आइतबारबाट मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रबाट ल्याइएका यी खसीबोका र च्यांग्र्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौं परिसरबाट बिक्री गर्नेभएको छ । नवमीको दिनसम्म खसी बोका र च्यांग्र्रा बिक्री गर्ने खाद्यले जनाएको छ ।

उता निजी क्षेत्रले भने यसपालिको दसैंमा ३५ हजारको संख्यामा खसी बोका ल्याउने जनाएको छ ।

मुस्ताङमा बढी च्यांग्रा उत्पादन भएपछि व्यापारीहरूले यसपालि च्यांग्राको मूल्य घटाएका छन् ।

गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्यांग्रा खरिद गरिएकामा यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरिएको छ ।

गत वर्ष काठमाडौं पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्यांग्राको मूल्य यसपालि ४५ हजारभन्दा कम पर्नेछ । यस वर्ष दसैंका लागि मुुस्ताङबाट १० हजार च्यांग्रा बिक्री हुने अनुमान गरिएको छ ।

२०८० सालमा ७ हजार, २०७९ सालमा ६ हजार ८ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्यांग्रा निकासी भएको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्रको तथ्यांक छ ।

पशुसेवा विभागका अनुसार तीन वर्षअघिको दसैंमा ६० हजार खासीबोका काठमाडौं उपत्यका भित्रिएका थिए । यसपटकको दसैंमा ३० देखि ३५ हजार मात्र खसीबोका खपत हुने अनुमान व्यवसायीले गरेका छन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार