काठमाडौँ - जिल्ला अदालत काठमाडौंले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा बुढानीलकण्ठका आशिष देउलासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउलासँगै उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई थुनामा पठाउन आदेश दिएको हो।
एक युवकको जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए। अर्को युवकको जाहेरीमा भने चारै जनालाई विपक्षी बनाइएको थियो। दुई फरक जाहेरी र मुद्दा भएपछि कसुर गर्ने व्यक्ति एकै रहेकाले लगाउमा राखेर यी दुबै मुद्दाको सुनुवाइ भएको थियो।
उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २११ को उपदफा १ र २ को बमोजिम अपहरण गरी शरीर बन्धक गरेको कसुर र दफा १८३ को ज्यान मार्ने उद्योगको कसुरमा कारबाही हुने माग गरिएको थियो।
सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’ बाट परिचित देउलाको समूहले युवा युवतीलाई यातना दिएर आनन्द लिएको आरोप लागेको थियो।