न्युयोर्क – एनबिसी न्युजले जुलाई महिनामा गरेको सर्वेक्षणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जो बाइडेनको तुलनामा दुई प्रतिशतले अघि थिए। जुलाई महिनामा नै बाइडेनले रेस त्यागेपछि एनबिसी न्युजकै अनुसार अहिले ५ प्रतिशतले ह्यारिस अघि छिन्। पछिल्लो सर्वेक्षणले ह्यारिस ४९ प्रतिशत तथा ट्रम्प ४४ प्रतिशतको अवस्थामा छन्।
अहिले ह्यारिस सबै रूपले अघि छिन्। उनी मानसिक रूपले दरिलो छिन्। सुरुमा बाइडेनको शारीरिक अवस्थामा ट्रम्पले आक्रमण गरेका थिए भने अहिले ह्यारिसले नै त्यसै विषयमा आक्रमण गरेकी छिन्।
वर्तमान उपराष्ट्रपति तथा पूर्व राष्ट्रपतिको भिडन्तमा धेरै जना अमेरिकी वर्तमान अवस्थामा असन्तुष्ट देखिएका छन्। तर, सुधारोन्मुख भविष्यका लागि ह्यारिस प्रति धेरै आशावादी छन्।
हार्ट रिसर्च एसोसिएटका जेफ होरविटका अनुसार जुलाई महिनामा ट्रम्प विजय उन्मुख थिए। अहिले त्यो वातावरण फेरिएको छ।
अहिले ट्रम्पले उठाएको मुद्दामध्ये मुद्रास्फीतिको मुद्दामा बलियो भए पनि अन्य विषयमा उनी कमजोर छन्।
अहिले मूल्य वृद्धिका कारण जनजीवनमा समस्या देखिएको छ। यसमा धेरै अमेरिकी सतर्क छन्। धेरै जना बाइडेनसँग असन्तुष्ट रहे पनि ह्यारिसले यसलाई सम्हाल्न सक्दिनन् भन्नेमा सबै सहमत छैनन्।
सर्वेक्षणमा ह्यारिस अश्वेत अमेरिकीमा ८५-७ प्रतिशतले अघि छिन्। यसैगरी, १८ देखि ३४ वर्षको उमेर समूहमा उनको अग्रता ५७-३४ प्रतिशत छ। महिलाको उनको अग्रता ५८-३७ प्रतिशत छ। कलेज डिग्री भएकामा ५९-३८ तथा स्वतन्त्रमा ४३-३५ प्रतिशत छ।
पुरुष मतदातामा ट्रम्प ५२-४० प्रतिशतले अघि छन्।