काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ०८४ को निर्वाचनपश्चात् नेकपा (एमाले)का तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनको आज ललितपुरमा आयोजित २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा उनले जबजको मुख्य नीति राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने रहेको र त्यसका लागि हरेक नागरिक आत्मनिर्भर हुँदै जानुपर्ने बताईन् ।
एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेकामा उनले जोड दिइन् । उनले एमालेका तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि नै लाग्न जरुरी रहेको बताइन् ।
एमाले आउँदो निर्वाचनबाट मुलुकमा निर्णायक शक्ति हुन अहिलेदेखि नै लाग्न जरुरी रहेको उनले औँल्याइन् । ०८४ पछि एमाले निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत पार्न जरुरी रहेको उनले बताइन् ।
आउँदो निर्वाचनसम्म एमालेले फाउन्डेसनको अग्रसरतामा मुलुकभर 'जबज'का माध्यमबाट अभियान चलाउन उनले आग्रह गरिन् ।