१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

13.5k Shares

काठमाडौं । चालू आर्थिक वर्षको साउन र भदौमा १२ अर्ब २० करोड प्रत्यक्ष वैदेशिक लगानी गर्ने प्रतिबद्धताका साथ १ सय ७३ उद्योग सञ्चालनका लागि विदेशीले उद्योग दर्ता गरेका छन् ।

उद्योग विभागका अनुसार भदौमा मात्रै ६६ वटा परियोजनाका लागि ४ अर्बबढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौमा मात्रै अटोमेटिक रुटबाट २१, एप्रुभल रुटबाट ३८, सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)बाट सातवटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ ।

साउन र भदौमा गरी अटोमेटिक रुटबाट ५२, एप्रुभल रुटबाट ९७, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए)बाट १६ र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)बाट आठवटा उद्योगका लागि प्रतिबद्धता आएको हो ।

साउन र भदौमा १ सय ७३ वटा उद्योगका लागि १३ अर्ब ५८ करोड १२ लाख २२ हजार ७ सय रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको तथ्यांक उद्योग विभागको रहेको छ । दुई महिनामा आएको प्रतिबद्धतानुसार उद्योग स्थापना भएमा ४ सय ८५ जनाले रोजगारी पाउँनेछन् ।

विभागका अनुसार एप्रुभल रुटबाट दुई महिनामा १२ अर्ब १२ करोड २४ लाख र अटोमेटिक रुटबाट ८६ करोड २५ लाख ६० हजार रुपैयाँ प्रतिबद्धता आएको हो ।

यसैगरी, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए)बाट ५९ करोड ६२ लाख ६२ हजार रुपैयाँको प्रतिबद्धता आएको छ । भदौ महिनाका लागि भने अटोमेटिक रुटबाट २६ करोड ५० लाख र एप्रुभल रुटबाट ३ अर्ब ५६ करोड ७४ लाख रुपैयाँको प्रतिबद्धता आएको छ ।

साउन र भदौ महिनामा आएका लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रका लागि आएको देखिएको छ । यस क्षेत्रले कुल प्रतिबद्धताको ७३ प्रतिशत ओगटेको छ । प्रतिबद्धतानुसार दुई महिनामा ७१ उद्योगका लागि प्रस्ताव भएका छन् । यसैगरी, विभागका अनुसार सेवा क्षेत्रमा १५ वटा उद्योग आएका छन् । उत्पादनमा ६ वटा, सूचना प्रविधिमा तीनवटा, कृषिमा दुईवटा उद्योग दर्ता भएको तथ्यांक उद्योग विभागको छ । हालसम्म खानी, पूर्वाधार र इनर्जी क्षेत्रमा भने लगानीको प्रतिबद्धता नआएको उद्योग विभागले जनाएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार