काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि व्यक्ति वा संस्थाको बैंक खातालाई तीन किसिमले रोक्का गर्न सकिनेगरी पहिलोपटक विनियमावली तयार गरेको छ ।
बैंक खाता रोक्का तथा फुकुवा गर्ने कार्यलाई व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंकले पहिलोपटक बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ जारी गरेको हो ।
बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन नियमावली जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
विनियमावलीनुसार कसुर गर्ने व्यक्तिको कसुर हेरी खाता तीन प्रकारले रोक्का हुन सक्नेछ । प्रचलित कानुनबमोजिम नेपाल सरकार वादी हुने फौजदारी कसुर गरेको व्यक्ति वा संस्थाको सम्पूर्ण खाता नै रोक्का गरिने विनियमावलीमा उल्लेख छ । यसैगरी, कसुरनुसार निश्चित खाता वा खातामा रहेको निश्चित रकम मात्र पनि रोक्का गर्न सकिने स्पष्ट पारिएको छ ।
कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्नेगरी गरिएको खाता रोक्कालाई सम्पूर्ण खाता रोक्का भनिने बताइएको छ ।
यसैगरी, निश्चित खाता रोक्का भन्नाले बैंक तथा वित्तीय संस्थामा खोलिएका निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्नेगरी गरिएको खाता रोक्का भनेर बुझाइने स्पष्ट पारेको छ ।
बैंक तथा वित्तीय संस्थामा रहेको खातामा भएको रकममध्ये निश्चित रकम मात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावत रूपमा प्रयोग गर्न सक्नेगरी गरिएको खाता रोक्का आंशिक खाता रोक्का हो ।
विनियमावलीका अनुसार ग्राहकको सम्पूर्ण खाता रोक्का गर्दा इजाजतप्राप्त संस्थाहरूमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कारोबार गर्न नपाइने व्यवस्था छ भने निश्चित खाता रोक्कामा कुनै निश्चित बैंक वा वित्तीय संस्थामा रहेको खाताबाट कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ । आजको राजधानी दैनिकबाट