बैंकमा ८ खर्ब अधिक तरलता राष्ट्र बैंकले तान्यो १९ अर्ब निक्षेप

14.3k Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि निक्षेप तान्न थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा ८ खर्ब रुपैयाँभन्दा बढीको अधिक तरलता देखिएपछि बजार सन्तुलनका लागि नेपाल राष्ट्र बैंकले ‘रिभर्स रिपो’ गरेको हो ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिका लागि तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरणलाइ ‘रिभर्स रिपो’ भनिन्छ । यसमा बैंक तथा वित्तीय संस्थालाई निश्चित ब्याज तिर्नेगरी नेपाल राष्ट्र बैंकले तोकिएको रकम ती संस्थाबाट सापटी लिने काम गर्छ, जसले गर्दा बैंकिङ प्रणालीको तरलतामा कमी आउँछ ।

यसरी सापटी लिँदा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको ट्रेजरी बिल्स तथा विकास ऋणपत्र धितोस्वरूप राख्ने गरिन्छ । यसमा तिर्नुपर्ने ब्याज बोलकबोल प्रक्रियाबाट निर्धारण हुन्छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग सापटी लिने काम गरिन्छ । रिपो तथा रिभर्स रिपो नेपाल राष्ट्र बैंकले छोटो समयावधिका लागि बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन् ।

नेपाल राष्ट्र बैंकले बुधबार मात्रै १९ अर्ब रुपैयाँ निक्षेप तानेको थियो । बजारमा कर्जाको माग बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएपछि राष्ट्र बैंकले २१ दिनका लागि १९ अर्ब रुपैयाँ निक्षेप तानेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्ब तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार बिहीबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६४ खर्ब ६६ अर्ब निक्षेप संकलन भएको छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकानुसार निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने भए पनि अहिले बैंकहरूले ७९ प्रतिशत मात्र लगानी गर्न सकेका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ९८ प्रतिशतमा झरेको छ । बैंकहरूले न्यूनतम २० प्रतिशत खुद तरल सम्पत्ति कायम गर्नुपर्ने भए पनि बैंकहरूसँग ३० प्रतिशत खुद तरल सम्पत्ति पुगेको छ ।

रेमिट्यान्समा देखिएको सुधार, घट्दो आयात र बढ्दो शोधनान्तर स्थितिसँगै चालू खातामा पनि लगातार बचतमा हुँदा बैंकमा निक्षेप लगातार बढेको बताइएको छ ।

कर्जा प्रवाह हुन नसकी तरलता बढ्दै गएपछि बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले तरलता सन्तुलनका लागि साउन र भदौमा मात्रै २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप तानेको छ । १२ भदौमा मात्र राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

यसअघि राष्ट्र बैंकले २ भदौमा १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, गएको २३ साउनमा ४० अर्ब, १० साउनमा १ अर्ब १० करोड, १६ साउनमा ४० अर्ब, ९ साउनमा ४० अर्ब र २ साउनमा ५० अर्ब रुपैयाँ राष्ट्र बैंकले निक्षेप तानेको थियो । आजकाे राजधानी दैनिकबाट

सम्बन्धित समाचार