ओली–बालेन ‘वाक युद्ध’: कसले कसलाई ‘निहुँ’ खोजिरहेका छन् ?

15k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) बीचको ‘वाक युद्ध’ले अहिले नेपाली राजनीति तातेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका विरुद्धमा खरो टिप्पणी गर्दै आएका नगरप्रमुख शाह पछिल्लो समय प्राय हरेक विषयमा आलोचना गर्नबाट पछि हट्दैनन् ।

ओलीको नामै उल्लेख गर्दै शाहले आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन भनेका छन् । सोमबार नगरप्रमुख शाहले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘प्रधानमन्त्री खडकप्रसाद ओलीज्यू तपाईं आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनुहोला ! पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

अहिले नगरप्रमुख शाहको समर्थन र विरोधमा टीकाटिप्पणी चलिरहेको छ । ओली र एमालेको विरोधमा टिप्पणी गर्दै आएका शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्धमा अहिले थोरै मात्रै आलोचना गर्छन् ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको समयमा सिंहदरबारमै आगो लगाउने धम्की दिएका शाहले माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयअगाडि ट्रकमा फोहोरसमेत फाल्न लागेका थिए, तर उनले फाल्न सकेनन् । यद्यपि, उनले सडक विभागको अगाडि ट्रकमा लगेर भने फोहोर फाले । एमाले सचिव एवं तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग जुधेका शाहले चक्रपथ सडक निर्माणको विवादमा टिप्पणी गर्दै प्रत्येक दिन फोहोर उपहार पठाउने खुला चेतावीसमेत दिएका थिए ।

यसपछि ओलीले शाहको यस्तो शैलीको विरोध मात्रै गरेनन्, शाहको खुलेरै सार्वजनिक कार्यक्रममा समेत विरोध गर्नथाले । त्यसपछि शाहले पनि ओलीको खुलेर विरोध गर्नथाले । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री भएपछि बालेनले तीखो प्रहार गरे ।

सामाजिक सञ्जाल फेसबुक पेजमा शाहले लेखे, ‘यो समय गिरिबन्धु चियाको हो, कालेकाले मिलेर खाऊँ भाले ।’ ओली र देउवाले मुस्कुराउँदै चिया खाइरहेको फोटो राखेर बालेनले स्टाटस लेखेका थिए ।

त्यसअघि शाहले लेखेका थिए, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई २ वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनुभएछ । गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थाल्नुभएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार