प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?

13.4k Shares

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका प्रहरी अधिकृतहरू सर्वोच्च अदालत पुगेका छन् । प्रहरी अधिकृतहरूले सर्वोच्चले यसअघि दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नहुञ्जेल आफूहरूलाई दिएको अवकाशको पत्र कार्यान्वयन नगर्न रिटमा माग गरेका छन् ।

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश दिने व्यवस्था प्रस्तुत रिट निवेदन दायर भएको मितिदेखि नै लागू नहुनेगरी प्रबन्ध गर्न माग गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय जीवनकुमार श्रेष्ठ र दिनेशराज मैनालीलगायतका प्रहरी कर्मचारीले रिट दायर गरेका हुन् । यस रिटमाथि सुनुवाइका लागि आज (६ भदौमा) पेसी तोकिएको छ ।

रिटमा नेपाल प्रहरीमा भर्ना भई विभिन्न तालिम र अनुभव लिएका व्यक्तिहरू सेवाबाट अवकाश पाउँदा उनीहरूले ७५ प्रतिशत पेन्सन लिँदा राज्यलाई थप भार पर्ने भएकाले आर्थिक दृष्टिकोणले पनि अनिवार्य अवकाशका लागि ३० वर्षको सेवाहद उपयुक्त नभएको दाबी गरिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १ सय ८ जना प्रहरी अधिकारीहरू ३० वर्षे सेवा अवधिका कारण यही १५ भदौमा अनिवार्य अवकाशमा जाँदै छन् । १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका ब्याचका १ सय ८ प्रहरी अधिकारीहरू आगामी १५ भदौमा अनिवार्य अवकाशमा जाँदै छन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार