काठमाडौँ । नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो ।
समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन ।
तथापि सरकारले डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरेपछि उहाँहरू बुधबारदेखि नियमित काममा फर्कनुभएको छ । उपकुलपति प्राडा केशरजङ्ग बराल भने बिरामी भएर घरमै आराम गरिरहनुभएको छ ।
विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार आफूले भने अनुसारको व्यक्तिलाई विभागीय प्रमुख बनाउन दबाब दिँदै केही विद्यार्थी सङ्गठनका नेताले पदाधिकारी तथा प्राध्यापकलाई आक्रमणको धम्की दिएका छन् ।
बुधबार बिहानै मन्त्री भट्टराईले फेसबुकमार्फत त्रिविमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको जानकारी दिनुभएको थियो । साथै गुन्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै विश्वविद्यालयको सुरक्षाको प्रबन्ध गर्न उहाँले गृहमन्त्रीसँग माग गर्नुभएको थियो ।
मन्त्री भट्टराईको आग्रहपछि बुधबार प्रहरीले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा सुरक्षा दिएको थियो । त्रिविमा पछिल्लो समयदेखि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद आफू मातहतका निकायमा पदाधिकारी नियुक्ति गर्दा अनुभवी र वरिष्ठलाई मात्रै अघि सार्ने उद्देश्यले त्रिवि कार्यकारी परिषद्ले केही समयअघि तयार गरेको मापदण्डसँग सम्बन्धित हो । आजको गोरखापत्र दैनिकबाट