हेटौँडा । मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात दर बर्सेनि घट्ने क्रममा छ । औद्योगिक उत्पादनमा आएको कमीले बर्सेनि छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्याङ्कले देखाएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र मात्रै सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामग्री विदेशी निर्यातको अवस्था भने निराशाजनक रहेको तथ्याङ्क छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा मकवानपुरबाट करिब सवा ५९ करोड रुपियाँको औद्योगिक उत्पादन भारतलगायत तेस्रो मुलुकमा निर्यात भएको मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कले देखाउँछ । सङ्घका अनुसार आव २०७९/८० मा करिब ६८ करोड रुपियाँको निर्यात भएको थियो । त्यसअघि आव २०७८/७९ मा चार वटा उद्योगले तीन अर्ब चार करोड रुपियाँको औद्योगिक उत्पादन निर्यात गरेकोमा गत आवमा करिब ५९ करोड रुपियाँमा खुम्चिएको हो ।
पेय पदार्थको बिर्को उत्पादन गरी भारत निर्यात गर्ने प्याक्ट गु्रप क्लोजर सिस्टम नेपाल प्रालि र पानमा प्रयोग हुने मसला निर्यात गर्ने हिमालय कत्थाले मकवानपुरको निर्यात व्यापारमा सबैभन्दा धेरै योगदान गरिरहेको छ । गत आवमा प्याक्ट गु्रपले मकवानपुरबाट ३० करोड ७४ लाख ३३ हजार रुपियाँको सामग्री निर्यात गरेको थियो । बहुराष्ट्रिय उद्योगको पेय पदार्थको बिर्को उत्पादन गरिरहेको उक्त कम्पनीले आव २०७९/८० मा पनि ३१ करोड ८४ लाख रुपियाँको सामान भारत र अस्ट्रेलिया पठाएको थियो ।
प्लास्टिकको बोरा उत्पादन गरी निर्यात गरिरहेको गोदावरी पोलिप्याक्स एन्ड फेबिक प्रालिले विगतका वर्षमा करोडौँको निकासी गरिरहेकोमा गत वर्ष शून्य निर्यात गरेको छ । आव २०७८/७९ मा एक अर्ब ४२ करोड ६८ हजार रुपियाँको सामान निर्यात गरेको गोदावरी पोलिप्याक्स एन्ड फेबिक प्रालिको निर्यात आव २०७९/८० मा ७२ लाख ४७ हजारमा खुम्चिएको थियो । गत वर्ष भने गोदावरीको निर्यात शून्य भएको हो । आजको गोरखापत्र दैनिकबाट