काठमाडौं । पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै छ छुट’ भन्ने गितलाई ठ्याक्कै मेल खाने गरी कलंकी चोकैमा रहेको सहिद मेमोरियल अस्पतालले त्यस्तै गरी ब्रम्हलुट धन्दा मच्चाएको पाइएको छ ।
कलंकी चोकैमा रहेको सहिद मेमोरियल अस्पतालले गत साउन २४ गते दुर्घटनामा सामान्य घाइते भएकी ललितपुरकी एक महिलालाई त्यस्तै गरी लुट धन्दा मच्चाएको हो । सामान्य दुर्घटनामा पिचमा धस्सीएर घुँडा, पिडौला र गोडाको छालामा सामान्य चोट र एउटा गोडाको नङ मात्र उप्किएको अवस्थामा सो अस्पतालको इमरजेन्सीमा उपचारको लागि गएकी थिइन् । उपचारकै क्रममा इमरजेन्सीमा रहेका नर्स र डाक्टरले भिडियो एक्सरे लिन लगाए र रिपोर्ट सामान्य आयो ।
नर्सको भनाई अनुसार सामान्य ड्रेसिङ गरी डिस्चार्ज गर्दा पनि हुने अवस्था छ, तर डाक्टरलाई एकचोटी देखाएर मात्र डिस्चार्ज गर्दा राम्रो भनेकी थिइन् । त्यतिकैमा करिब आधा घन्टापछि चप्पल पड्काउँदै डाक्टर दिपक श्रेष्ठ आए र विरामीलाई छुँदा पनि नछोई धस्सिएको घाउलाई सम्म राम्रोसँग नहेरी नङ काटेर फाल्नुपर्ने भन्दै ड्रेसिङ रुपमा लग्नु भनी गए । त्यसपछि इमरजेन्सीमा रहेकी नर्सले ड्रेसिङ चार्ज र औषधीको नाम लेखिदिइन् ।

एउटा सामान्य नङ काटेर फाल्दा त्यसको चार्ज सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ । त्यो पनि सम्पूर्ण सुविधायुक्त अस्पतालले त्यति चार्ज लगाएको भए सायदै अचम्म लाग्ने थिएन होला । सहिद मेमोरियल अस्पतालको ड्रेसिङ रुम हेर्ने हो भने सामान्य मेडिकलले पर्दा लगाएर गरेको अवस्था जस्तै देखिन्थ्यो । यस्तो अबस्थामा संचालित अस्पतालको ड्र्ेसिङ चार्ज १० हजार ७ सय रुपैयाँ लिइँयो, त्यो चार्ज डाक्टरले ड्रेसिङ गरेको चार्ज भनी अस्पतालले सो रकम लियो । तर, ड्रेसिङ भने नर्सले गरेकी थिइन् । त्यतिबेला विरामीको ड्रेसिङ गर्न डा. दिपक श्रेष्ठ ड्रेसिङ रुममा नै आएनन्, त्यतिकै यति ठूलो रकम डाक्टरको नाम लिँदै उठाउने गरेको विरामीका आफन्तले बताए ।
विरामीका आफन्तले १० हजार ७ सय रुपैयाँमा ड्र्ेसिङ र औषधीको समेत हो कि भनेर बुझ्न डा. दिपक श्रेष्ठसँग जाँदा डाक्टरसँगै रहेकी इमरजेन्सीकी नर्सले यो सबै उपचारको हो, अझ हामीले एनेस्थेसिया डाक्टरको चार्ज नै लिएका छैनौं भन्दै विरामीका आफन्तलाई अक्क न बब्क बनाउँदै औषधी तपाईंले आफैले ल्याउनुपर्छ भनेकी थिइन् ।
डा. दिपक श्रेष्ठले राम्रोसँग चेकजाँच नगरी र ड्रेसिङ गरेको भन्दै सम्पूर्ण सुविधा सम्पन्न अस्पतालले लिने चार्ज लिइरहेका छन् । विरामीको नर्सद्वारा सामान्य ड्रेसिङ गर्दा पनि यति ठूलो रकम लिने सहिद मेमोरियल अस्पताललाई हालै नियुक्त स्वास्थ्य मन्त्री प्रदिप पौडेलले अनुगमन गरी मापदण्डमा शुन्य अवस्थामा संचालित अस्पताल चलाउन योग्य छ कि छैन, यस अस्पतालबाट पीडित विरामीहरुले सही उपचार पाएका छन् कि छैनन् भनेर छड्के हान्नुपर्ने अवस्था छ । यस अस्पतालले अनुगमनकर्ता स्वास्थ्य विभागका भ्रष्ट कर्मचारीहरुलाई राम्रै नजराना बुझाएकै भरमा यसरी अस्पताल संचालन गर्दै आइरहेको कलंकीकै स्थानीयले खोजतलाससँग गुनासो पोखेका छन् ।
रिङरोड कलंकी चोकैमा रहेको सहित मेमोरियल अस्पतालले दैनिक सामान्य देखि ठूलो दुर्घटनामा परेर आएका विरामीहरु त्यस अस्पतालमा उपचारका लागि जाने गर्छन् । उपचारको क्रममा विभिन्न बहाना बनाउँदै रकम असुल्न थालेपछि विरामीका आफन्तहरु थाप्लोमा हात राख्दै बेकारमा यस अस्पतालमा आइएछ भन्ने गरेका छन् ।