नारायणगढ । हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो ।
उपचार थालिएको चार वर्षयता हात्तीमा टिबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन् । यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधी र उपचार प्रभावकारी देखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताउनुभयो ।
“विगतमा क्षयरोगले हात्तीहरू भटाभट मर्न थालेपछि चिन्ता थियो, अहिले कुनै पनि हात्तीमा क्षयरोगका लक्षण देखिएको छैन,” उहाँले भन्नुभयो । चितवनमा अहिलेसम्म ६७ वटा हात्तीलाई टिबीको औषधी खुवाएर निको पारिएको पनि उहाँले जनाउनुभयो । २०६७ सालमा टिबी भएरै औषधी खुवाइएको बहादुर गज अहिले सौराहामा नियमित निकुञ्ज सुरक्षाका लागि गस्तीमा परिचालित छ ।
यस्तै मेनका कली अहिले पर्सा राष्ट्रिय निकुञ्जको गडुवालाइन पोस्टमा छ । उसलाई पनि २०६८ मा टिबीकै उपचार गरिएको हो । टिबीको उपचार गरिएकामध्ये अहिलेसम्म दुई हात्तीको मृत्यु भएको छ तर दुवैको पोस्टमार्टममा क्षयरोगको कुनै पनि लक्षण देखिएन । “पछिल्लो पटक निकुञ्जमा मरेको भोलाप्रसाद टिबीकै उपचार गरेको हात्ती हो । उपचारको लामो समयपछि मरेको यो हात्तीको पोस्टमार्टम गर्दा कुनै पनि क्षयरोगको लक्षण देखिएन,” हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरन चौधरीले भन्नुभयो ।
हात्तीलाई एक वर्षसम्म नियमित औषधी खुवाइएपछि मात्रै क्षयरोगबाट मुक्त हुने गरेका छन् । डा. श्रेष्ठका अनुसार क्षयरोग सङ्क्रमित हात्तीलाई एथेमब्युटोल, रिफ्यामपिसिन र आइसोनाइजिट औषधी खुवाइएको हो । यी औषधी मानिसका लागि पनि प्रयोग गरिन्छन् । “यो औषधी मानिसभन्दा हात्तीलाई चालिस गुणा बढी दिनु पर्छ,” उहाँले भन्नुभयो । नेपाल प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौलाले भन्नुभयो, “हात्तीको तौल हेरेर मान्छेलाई भन्दा चालिस गुणाभन्दा बढी औषधी खुवाएपछि मात्रै हात्तीलाई टिबी निको गराउन सकिएको हो,” उहाँले भन्नुभयो । हात्तीको तौल चार हजार किलोग्रामसम्म हुने भएकाले एउटा हात्तीलाई १५० देखि २०० मात्रासम्म औषधी दिनुपरेको स्मरण उहाँले गर्नुभयो । आजको गोरखापत्र दैनिकबाट