कोरोना महामारीमा तेक्वान्दोको सफलता 

18.6k Shares

० खेलकुदमा इच्छा भएका व्यक्ति प्रहरीमा जाने सोच कसरी जाग्यो ?
फौजीमै जागिर खाने सोच थियो, तर, प्रहरीमै खाने भन्ने थिएन, वास्तवमा मलाई प्रहरीले लगाउने युनिफर्म ज्यानै मन पर्ने भएका कारणले पनि म प्रहरी सेवामै लागेको हुँ । 
० नेपाल पुलिस क्लवमा आवद्ध भई तेक्वान्दोको प्रशिक्षक हुनुहुन्छ, तपाईं प्रहरी भएर चिनन चाहनु हुन्छ कि खेलाडी भएर ?
म प्रहरी भएर नै चिनन चाहन्छ । किनकी मलाई प्ले ग्राउण्ड उपलब्ध गराउने काम प्रहरीले गराएको हो । त्यसैले पनि मेरो पहिलो रोजगाई प्रहरी र त्यसपछि खेलाडी हो ।
० नेपालमा खेलकुद क्षेत्रमा लागेर दैनिक जीवनयापन गर्ने सक्ने अवस्था छ ?
गाह्रो छ । नेपालमा खेलकुद क्षेत्रमा लागेर आफ्नो दैनिक जीवनयापन र भविष्य सुरक्षित हुने अवस्था छैन । केही सिमित सोखिन खेलाडीहरुका लागि यस्तो अवस्था नआउन सक्छ, तर खेलकुद क्षेत्रमै निरन्तर लागेर आफ्नो परिवारको भविष्य र दैनिक जिवनयापनको लागि सोच्ने हो भने वर्तमान अवस्थामा कठिन नै छ । कतिपय खेलाडीहरुले खेलक्षेत्रलाई छाड्न नसकेर अन्य कुनै रोजगारीमा लागेर पनि खेललाई निरन्तरता दिइरहेका छन् भने कतिपय खेलाडीहरु आफ्नो भविष्य नदेखेर विदेशिन पलायन भई विदेशमै रहेर पनि खेललाई निरन्तरता दिई नेपालको नाम विश्वसामु चिनाउन सफल भइरहेका छन् । 
० नेपालमै खेलाडीहरुलाई खेलेर आफ्नो दैनिक जीवनयापन र परिवारको भविष्य सुनिश्चित गराउन सरकारले चासो नदेखाएकै हो ?
सरकारले यसतर्फ विगतको तुलनामा अहिले चासो देखाएका छ । तर सिमित स्रोत, साधन र सुविधाले खेलाडीलाई खुराकसमेत परिपूर्ति हुने अवस्था छैन । नजिकै आउने विभिन्न खेलकुद प्रतियोगिताहरुलाई मध्यनजर गरेर सरकारले बजेट विनियोजन गर्ने गर्छ । वास्तवमा प्रतियोगितालाई मध्यनजर गरेर होइन बर्षैैभरिका लागि खेलाडीहरुलाई चाहिने सेवा सुविधा, साधन स्रोतका साथै प्रशिक्षणको दिर्घकालिन योजना हुनुपर्छ । खेलकुद प्रतियोगिता नजिकै आएपछि मात्र यस्तो तयारी गर्ने गरेका कारणले पनि खेलाडीले खासै खेलस्तर उकास्न सकिरहेका छैनन् । प्रतियोगितालाई मध्यनजर भन्दा पनि वर्षै भरि खेलकुद क्षेत्रमा लागेका खेलाडीहरुलाई प्रशिक्षण गराउने वातावरण बनाई दिने, खेल क्षेत्रमा लागेकालाई सेवा सुविधा प्रयाप्त रुपमा उपलब्ध गराई दिने हो भने न खेलाडी विदेशिन्छन्, न कुनै रोजगारीका लागि अन्यत्रै धाउनुपर्ने अवस्था आउँछ । यस्तो अवस्थाको सिर्जना गरिदिएको खण्डमा नेपाली खेलाडीले जुसुकै मुलुकमा आयोजित खेलकुद प्रतियोगिताहरुमा राम्रो नतिजा ल्याई नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्छन् ।
० कस्तो खेललाई सरकारले लगानी गरेको खण्डमा नेपालको नाम विश्वमा ख्याती कमाउन सकिन्छ ?
सरकारले पहिलो कुरा कुन खेलले अन्तर्राष्ट्रिय स्तरमा उपलब्धी हासिल गर्न सक्छ । अन्तर्राष्ट्रिय स्तरमा पदकका लागि सम्भाव्यता भएका खेलहरुलाई मध्यनजर गरी सोही बमोजिम उक्त खेलहरुमा लगानी गरेमा उत्कृष्ट नतिजा हात पार्न सकिन्छ त्यसतर्फ पनि सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने आवश्यकता छ । विशेष गरी अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थालाई हेर्ने हो भने तेक्वान्दो हालसम्मकै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सर्वाधिक पदक ल्याउने खेल हो । हालै नेपालमा आयोजित १३ साग गेममा समेत सर्वाधिक स्वर्ण पदक ल्याउने खेल तेक्वान्दो नै हो । यस खेललाई राम्रो लगानी गरेको खण्डमा सोचेको भन्दा पनि नतिजा ल्याउन सक्नेमा दुई मत छैन । किनकी नेपाली खेलाडीहरु सीमित साधन स्रोत र छोटो समयको बन्द प्रशिक्षणको अवस्थामा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक ल्याउन सफल बनिसकेका छन् । 
० विश्व महामारी फैलिएको कोरोना भाइरसका कारण सबै खेल बन्द रहेको अवस्थामा पनि तेक्वान्दो खेलले कसरी निरन्तरता दिन सफल भयो ?
विश्व जगतमा तेक्वान्दो खेलको इतिहासमा प्रथम पटक जर्मनमा आयोजना भएको प्रथम अनलाइन डेडो खुल्ला युरोपियन प्रतियोगितादेखि नेपाल ओपनसम्म आउँदा नेपाल प्रहरीका तेक्वान्दो खेलाडीहरुले १९ स्वर्ण, २० रजत र २० कास्य गरी कुल ५९ वटा पदकहरु ल्याउन सफल भई नेपालमा तेक्वान्दो विकासका लागि उल्लेखनीय योगदान दिँदै आएका छन् । 
० कोरोना भाइरसको महामारीको अवस्था जर्मनमा आयोजित प्रतियोगितामा सहभागिता जनाउन कसरी सम्भव भयो ? 
सर्वप्रथम त सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल प्रहरीले राम्रो वातावरणको भूमिका निर्वाह गरी खेल्ने वातावरण निर्माण गरिदियो । जुन हामी पुम्से विधाका खेलाडीहरु यो प्रतियोगिता संचालन हुनु पूर्वदेखि नै नेपाल सरकारले तोकेको मापदण्ड बामोजिमको भौतिक दुरी कायम गरी नियमित प्रशिक्षणमा तल्लिन थियौं । साथै, नेपाल तेक्वान्दो संघले सो प्रतियोगितामा सहभागिता जनाउनको लागि ग्लोबल लाइसेन्स जारी गरी सहयोग गरेको थियो । तथापि जर्मन बैंकमा २० युरो प्रतिखेलाडीका दरले पाँच जना खेलाडीको एक सय युरो जम्मा गर्न नेपाल तेक्वान्दो संघबाट समेत सम्भव नभएपछि हामी खेलाडी आफ्नै व्यक्तिगत पहलमा जर्मन बैंकमा सो रकम जम्मा गर्न लगाई खेलाडी दर्ता प्रक्रिया सफल भएको थियो । सञ्जोगबस नेपालको प्रतिनिधित्व गर्ने पाँचै जना खेलाडी नेपाल प्रहरीका थिए । जसमा प्रशिक्षक व्यवस्थापक, अफिसियलदेखि खेलाडीसमेत म आफै थिएँ । सो प्रतियोगितामा विश्वका ७२ देशका १२ सय ७५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा वितरित प्रमाणपत्रमा नेपालको झण्डासमेत इंगित छ । नेपालले अनलाईन प्रतियोगितामा सहभागिता जनाएवापत युनाइटेड युनिर्भसल तेक्वान्दो फेडेरेशन (युयुएनटीएफ)ले मलाई व्यक्तिगत रुपमा अन्तर्राष्ट्रिय अनलाईन प्रतियोगितामा सहभागिता जनाउने प्रथम नेपाली भनेर सम्मान गरी प्रशंसापत्रसमेत प्रदान गरेको छ । कोरोना भाइएरसको महामारीका विच धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा म आफूमात्र सहभागि नभई आफ्नो टिमलाई विभिन्न माध्यम (युट्युव लिंक, भिडियो र लाइभ) सहभागिता जनाई नेपालको लागि सर्वाधिक पदकहरु हत पार्न सफल बनेका छौं । 
० अन्तिममा भन्नैपर्ने केही छन् कि ? 
धेरै कुरा छन्, खेल क्षेत्र बाहेक नेपाल प्रहरीमा स्वदेश तथा विदेशमा समेत विभिन्न अफिसहरुमा उत्कृष्ठ तवरले आफ्नो कार्य सम्पादन गर्दै आइरहेको, नेपाल प्रहरीबाट उल्लेखनीय मात्रामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भइरहेका छन् । तेक्वान्दो खेलको सन्दर्भमा वर्तमान परिस्थितिमा पनि विभिन्न टेक्नोलोजीका माध्यमबाट खेलाडीहरुलाई सहभागिता गराउँदा नेपाल प्रहरी मात्र नभई नेपाली खेलाडीहरु टेक्नोलोजीका माध्यमबाट यस्तो किसिमका अनलाईन प्रतियोगिताहरु खेल्न सक्षम छन् भन्ने सन्देश समेत हाम्रो पहिलो सहभागिताले दिएको छ । वर्तमान परिस्थितिमा थुप्रै अनलाईन प्रतियोगिताहरु संचालन भइरहेका छन् जन हाल आएर सामान्य जस्तो नै भइसकेको छ । 
नेपाल प्रहरीका खेलाडीहरुको अनलाईन प्रतियोगिताहरुमा उल्लेखनीय सहभागितालाई मध्यनजर गरी अमेरिकाको पोर्टल्याण्ड राज्यस्थित प्रधान कार्यालय रहेको इन्टर नेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसि) संस्थाले समेत नेपाल प्रहरी टिमलाई उच्च अनुशासित टिमको कदर पत्र माननीय युवा तथा खेलकुद मन्त्री दावा लामाको समउपस्थितिमा प्रदान गरेको छ ।
तेक्वान्दो खेलको विकासका लागि नेपालमा रहेका तेक्वान्दो खेलकर्मी व्यक्तित्वहरुमात्र नभई विभिन्न देशमा रही नेपालमा तेक्वान्दो खेलको विकास एवं खेलाडीहरुको हौंसला वढाइ रहेको छन् । जुन भरखरैमात्र नुवाकोट जिल्लामा सम्पन्न दोस्रो युयुएनटिएफ अवार्ड कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै गरी विगत लामो समयदेखि तेक्वान्दो खेलको विकासको लागि लक्षित गरी आइओएफटिसिले तेक्वान्दो खेल प्रतियोगिताहरु संचालन गर्नुको साथै विभिन्न डोजाङहरुलाई खेल सामाग्रीहरु उपलव्ध गराउँदै आएको छ । यसका साथै एभरेष्ट व्लड क्लास तेक्वान्दोले समेत खेल प्रतियोगिताहरुको संचालनका तथा विभिन्न तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्रीहरु उपलव्ध गराउँदै आएको छ । 
यतिमात्र नभएर जुन हाल तेक्वान्दो खेलको नेतृत्व तहमा उपध्यक्षको रुपमा जिम्मेवारी वहन गर्दै आई रहनु भएका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको तेक्वान्दो खेलप्रतिको मोहले हामी तेक्वान्दो कर्मीहरुलाई थप हौंसला प्रदान गरेको छ । उहाले तेक्वान्दो खेलका लागि गरिराख्नु भएको कार्यहरु नेपाल सरकार तथा अन्य उद्योगपतिहरुका लागि समेत प्रेरणादायी बनेको छ भन्ने कुरामा दुई मत छैन । त्यस्तै गरी बाग्मति प्रदेशको तेक्वान्दो प्रमुखको जिम्मेवारी वहन गरी राख्नु भएका केशव पुरीको तेक्वान्दो खेलप्रतिको मोह पनि वेग्लै किसिमको छ । माथि उल्लेखित संस्था तथा व्यक्तित्वहरुको सम्मान गर्दै एक तह माथि उठेर आगामी दिनहरुमा यस्ता किसिमका व्यक्तित्व तथा संस्थाहरुसँग समेत सहकार्य गर्दै अगाडी वढेमा तेक्वान्दो खेलको विकास तथा श्रोत साधन सम्पन्न हुने कुरामा दुई मत छैन ।

सम्बन्धित समाचार