काठमाडौँ । सांस्कृतिक कला विकास समूह, नेपालद्धारा नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापा विशेष सम्मान समारोह एवं विविध सांस्कृतिक कार्यक्रम–२०८१ मा बरिष्ट समाजसेवी तथा राजनीतिज्ञ शोभा शाक्य नेपाल पर्यटन बोर्डमा सम्मानित हुनुभएको छ । काठमाडौँको नेपाल पर्यटन बोर्डमा प्रतिनीधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा शाक्यलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
विगत लामो समयदेखि शोभा शाक्यले सामाजिक कार्यमा टेवा पुर्याउँदै आउनुभएको छ भने हजारौँ महिला जनशक्तिलाई आर्थिक रुपमा सक्षम बनाउन रोजगारमूलक कार्यक्रम प्रदान गरी समाजमा ठूलो योगदान पनि दिँदै आउनुभएको छ । ललितपुरको सौगलका स्थानीय शाक्यले राजनीतिमा पनि शसक्त भूमिका निर्वाह गर्दै आउनुभएको छ । शाक्य विगत अस्तित्वमा रहेको विवेकशील साझा पार्टीका तर्फबाट समानुपातिक सदस्य हुनुहुन्थ्यो भने बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिमा सदस्यको रुपमा कार्यरत हुनुहुन्थ्याे । शाक्य वर्तमानमा अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा सम्मानजनक पदमा आबद्ध हुनुहुन्छ । विगतमा पनि धेरै सम्मानबाट सु–सज्जित वहाँलाई यसपटक साँंस्कृतिक कला विकास समूह, नेपालले सम्मान प्रदान गरेको थियो ।
अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रममा नेपालको पहिलो नृत्य विज्ञ भैरब बहादुर थापालाई विशिष्ट सम्मान लगायत अरु थुप्रै स्रष्टाहरुलाई पनि सम्मान एवं पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सभापतिको आसन संस्थाका कोषाध्यक्ष रञ्जु राईले गनुभएको थियो भने कार्यक्रमको संयोजकत्व दिल बहादुर कटुवालले गनुभएको थियो ।
कार्यक्रममा पञ्चे बाजाको धुनले कार्यक्रमलाई मनमोहक बनाएको थियो भने थुप्रै छात्रछात्राहरुले संस्कृति झल्काउने नृत्य, बाजा, गायन प्रस्तुत गरेका थिए । अपरान्ह एक बजे शुरु भएको उक्त कार्यक्रम ५ बजे समापन भएको थियो ।



