तल्लोस्तरबाट उठेको कार्यकर्ता हुँ, नेतृत्व गर्न पाउने अवसर पाउँछु भन्ने विश्वास छ 

19.5k Shares

० नेपाली कांग्रेसको चौधौं महाधिवशेन नजिकिँदै छ, तपाईं ललितपुर जिल्लाको नेतृत्वमा जाने हल्ला छ के यो सत्य हो ?
धन्यवाद, यतिखेर हामी चौधौं महाधिवेशनको तयारीमा व्यस्त छौं । चौथौं महाधिवेशनमार्फत मुलुकलाई नयाँ दिशामा लानु पर्छ भन्ने अभियानमा हामी क्रियाशिल छौं । पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवद्र्धन गर्नुपर्छ भन्ने सोचमा हामी छौं । निःसन्देह नेतृत्वको कुरा पनि अत्यन्तै महत्वपुर्ण छ । ललितपुर जिल्लाको नेतृत्वको कुरा गर्दा १२ औं महाधिवेशनदेखि नै मेरो विषयमा चर्चा परिचर्चा चल्दै आएको छ । तेह्रौं अधिवेशनमा पनि यो विषयमा गर्मागर्मी बहस भएकै हो । तर, एक नम्बर क्षेत्रका साथीहरुलाई समर्थन गर्दै उम्मेदवारी त्याग गरेँ । र, नजिकिँदै गरेको चौधौं महाधिवेशनमा पनि मेरो विषयमा निकै चासो र चर्चा साथीहरुबीचमा भइरहेको मैले सुनिरहेको छु । म साथीहरुको चाहना र इच्छा बमोजिम राजनीतिमा अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे हुँ । ललितपुर जिल्लाको संगठनलाई राजनीतिक रुपमा चलायमान गर्नका लागि नेतृत्वमा आउन मेरो पनि इच्छा अवश्य छ । 
० नेतृत्वमा आउन कार्यकर्तामाझ के कस्ता एजेन्डाहरु लिएर आउनुभएको छ ? 
पहिलो कुरा त पार्टीलाई विचारको रुपमा संचालन गर्ने मेरो पहिलो मुख्य एजेण्डा हो । संगठनलाई सशक्त र चुस्त बनाउने मेरो अर्को एजेन्डा हो पार्टीका साथीहरुलाई प्रशिक्षित र प्रभावशाली बनाउनु अर्को एजेन्डा हो । जनताको विषयबस्तुलाई बुलन्दरुपमा आवाज मुखरित गर्ने पार्टीको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्ने अहिलेको नितान्त आवश्यक विषय छ त्यतातर्फ पनि पार्टीलाई परिचालित गर्न अहिलेको महत्वपूर्ण विषय हो । त्यसो हुँदा मैले असल विचार, असल नीति र असल नेतृत्व चयन गरौं भन्ने नारा तय गरेको छु । 


० तपाईंको ललितपुर कांग्रेसको नेतृत्व हाँक्ने अंक गणितीय आधारहरु के के छन् ? 
प्हिलो कुरा त मलाई ललितपुर जिल्लाका सबै साथीहरुले साथ दिनुहुने छ भन्ने पूर्ण विश्वास छ । खासगरी नेपाली कांग्रेसलाई निकै लामो समयदेखि नेतृत्व गर्दै पार्टीलाई यो ठाउँसम्म ल्याई पु¥याउने अग्रज नेताहरुले सहयोग गर्नुहुने छ भन्ने मेरो अपेक्षा छ । दोस्रो कुरा पार्टीलाई परिवर्तन गर्नुपर्छ, जनताको पार्टी बनाउनुपर्छ भन्ने ठूलो तप्का साथीहरुबाट मैले सहयोग प्राप्त गर्नेछु । राजनीतिमा आफ्नो जीवन अर्पण गर्ने त्यागलाई राजनीतिको साधन बनाउने सम्पूर्ण राजनीतिक व्यक्तित्वहरुबाट मलाई सहयोग गर्ने प्रतिबद्धता मैले देखिरहेको छु । युवा, श्रमिक, बुद्धिजिवि, व्यवसायिक साथीहरुले पनि नेपाली कांग्रेसलाई नयाँ कार्यशैलीबाट अगाडि बढाउनुपर्छ भन्ने आवाज आइरहेको छ । त्यसको लागि म उपयुक्त पात्र हुँ भन्ने मलाई लाग्छ । त्यसो हुँदा मलाई सहयोग हुने मलाई विश्वास छ । समग्रमा भन्नुपर्दा राजनीतिक अंक गणितलाई मनन गर्दा ललितपुर जिल्लाको तिनवटै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि साथीहरुबाट मैले आवश्यक मत अवश्य प्राप्त गर्छु भन्ने मेरो आत्मविश्वास छ । 


० ललितपुर जिल्लामा तपाईंलाई कुन लाइनको सभापतिको रुपमा चिनाउनु हुन्छ ?
मुलतः म नेपाली कांग्रेसको सदस्य हुँ । नेपाली कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनुपर्छ भन्ने मान्यतामा म अडिग छु । नेपाली कांग्रेसभित्र गुट र उपगुटको जुन राजनीति छ त्यसले नेपाली कांग्रेसलाई दिनप्रतिदिन कम्जोर बनाउँदै लगिरहेको हामी सबैलाई महसुस छ । यद्यपि नेपालका सबै पार्टीहरुमा यो समस्याले गाँजिरहेको छ, हामी सबैले देखिरहेका छौं । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको नाताले विचारको स्वतन्त्रता र वैयक्तिक अधिकारलाई सम्मान गर्ने पार्टी भएका कारणले अलि बेसी यो विषयमा स्वच्छन्दता भयो कि भन्ने मलाई लाग्छ । त्यसो हुँदा यसलाई कसरी कम बनाउँदै लाने मेरो चिन्तन त्यतातर्फ छ । म कुनै लाइन विशेषको उम्मेदवार भन्दा पनि म सबैको उम्मेदवार, कार्यकर्ताहरुको उम्मेदवार सबै पक्षलाई सम्मान गर्ने उम्मेदवारको रुपमा सिँगो पार्टीको सभापतिको रुपमा अगाडि बढ्न चाहन्छु । यद्यपि लोकतान्त्रिक पार्टीमा गुट होइन विचार समूह हुनसक्छ । लाइकम्यान्डेट साथीहरु हुनसक्छन्, ती साथीहरुको सद्भाव लिने काम निःशन्देह हुन्छ । मेरो उम्मेदवारीले ललितपुरमा पार्टी भित्रका सबै पक्षलाई समेटेर अगाडि बढ्न सक्ने अवस्था सिर्जना हुनुपर्छ भन्ने मान्यता निर्माण गर्न चाहन्छु । 


० बौद्धिक भद्र नेताको रुपमा परिचित तपाईं अधिवेशनमा फेरि चलखेल गर्ने नेताको रुपमा कार्यकर्ताले गुनासो गरेको पाइन्छ, यसलाई तपाईं के भन्नु हुन्छ ? 
मैले प्रत्यक्ष रुपमा ६—७ वटा पार्टीको महाधिवेशन वेहोरिसकेको छु । कुनै पनि महाधिवेशनमा मैले गुटगत राजनीतिलाई बढावा दिएको जस्तो लाग्दैन । बरु यो खालको प्रवृत्तिलाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकता दिएर महाधिवेशनहरुलाई सफल बनाउन हिँडेको एउटा कार्यकर्ताको रुपमा मलाई लाग्छ । साथीहरुले किन मेरो विषयमा यसो भन्छन् मेरो जानकारीमा छैन । तर, म स्पष्ट गर्न चाहन्छु, चाहे हिजो प्रजातान्त्रिक कांग्रेसमा रहँदा खेरी सम्पन्न भएको जिल्ला अधिवेशन होस्, या पार्टी एकीकरण भइसकेपछि सम्पन्न भएका महाधिवेशनमा होस् त्यसलाई एकचोटी गम्भीर रुपमा निहाल्ने हो भने म जहिले पनि मध्यमार्गी सबैलाई मिलाउने कार्यकर्ताको रुपमा मैले काम गर्दै आइरहेको छु । १२ औं महाधिवेशनमा मैले उम्मेदवारी दिएँ तर दोस्रो चरणको मतदान नहोस् भनेर जुन भूमिका मैले निर्वाह गरेँ त्यसको उचित मूल्यांकन गर्नका लागि म आग्रह गर्न चाहन्छु, त्यस्तै गरी १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारीको मेरो जुन व्यापक चर्चा, परिचर्चा भयो त्यो बिचमा पनि राजनीतिमा सधै आफै मात्र हुनुपर्छ भन्ने मान्यता तोड्नुपर्छ भनेर मैले उम्मेदवारी दिइन । र एक नम्बर क्षेत्रका साथीहरुले जुनरुपमा आफ्नो १५ सालदेखिको जिल्ला सभापति र संसदीय उम्मेदवार हुन नपाएको पीडा पोख्नु भयो त्यसको लागि मैले पनि हृदयदेखि नै महसुस गरेर उहाँहरुलाई समर्थन गर्दै मैले उम्मेदवारी नदिएको हुँ । यसले चलखेल गरेको देखिन्छ कि पार्टीलाई एक ढिक्का बनाएर बलियो न्यायपूर्ण पार्टी बनाउनलाई सहयोग ग¥यो, साथीहरु स्वयम्ले मूल्यांकन गर्नको लागि म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । 


० कार्यकर्ताहरुले त पार्टीलाई एक ढिक्का बनाउने नेतालाई खोजिरहेका छन् के तपाईं यसमा पर्नुहुन्छ ? 
आशन्न १४ औं महाधिवेशनमा धेरै नेता साथीहरुले नेतृत्व लिनका लागि आफूलाई प्रस्तुत गरिरहेको अवस्था छ । संघर्ष, दुःख र लामो समयदेखि पार्टीमा रहेर काम गरिरहनुभएका नेता साथीहरुले नेतृत्व खोज्नु अन्यथा होइन । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । सबै नेता साथीहरुका आ—आफ्ना विशेषता छन् । यसमा पार्टीलाई एकढिक्का सिंगो पार्टीको रुपमा अगाडि बढाउनका लागि यतिखेर सबभन्दा उपयक्त पात्र म नै हुँ भन्ने मलाई लाग्छ । म सबै नेता, कार्यकर्ता, शुभचिन्तक साथीहरुलाई समान व्यवहारका साथ पार्टीलाई अगाडि बढाउनका लागि काम गर्न सक्दछु भन्ने मेरो विश्वास हो । सायद जिल्लाका साथीहरुले यही कुरालाई मनन गरेर मेरो विषयमा यतिविघ्न चर्चा परिचर्चा गरिरहेको हो भन्ने मलाई लाग्छ । र, म कसैले तानेर नेता भएको व्यक्ति होइन, ग्रासरुटदेखि नेविसंघको संगठन गर्दै करिब २२ वर्ष नेविसंघमा विताएर आजभन्दा १६ वर्ष अगाडि केन्द्रीय सभापतिको उम्मेदवार भएको व्यक्ति हुँ । कम्युनिष्टहरुले च्यासलजस्तो ठाउँमा पार्टीको लागि काम गरिरहँदा सांघातिक हमला गरेर दुई—दुई पटक मार्नै खोजेको व्यक्ती हुँ । त्यसबाट कटै विचलित नभएर निरन्तररुपमा ३६—३७ वर्षदेखि पार्टी संगठनलाई राजनीतिक रुपमा, बैचारिक रुपमा र सांगठानिक रुपमा माथि उठाउन व्यक्तिगत दुःख पीडा भूलेर काम गरिहेको छु । त्यसो हुँदा यो अधिवेशनमा पार्टीका साथीहरुले जुन अपेक्षा राख्नुभएको छ त्यसको लागि मेरो उम्मेदवारी हो । मलाई सबै साथीहरुले विश्वास, सद्भाव, सहयोग गर्नुहुनेछ भन्ने मेरो अपेक्षा र अनुरोध छ ।

सम्बन्धित समाचार