कालीकोट । कालिकोटका अधिकांश स्थानीय तहका प्रमुख र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख घर बसेका छन् । आर्थिक मसान्त सके लगतै सहर पस्ने बानी परेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र सङ्घ तथा प्रदेश मातहतका जिल्ला स्थित कार्यालय प्रमुखहरू यस वर्ष पनि कार्यक्षेत्र छोडेका छन् ।
नेपाल सरकारको गृह मन्त्रालयले गरेको निर्देशन विपरीत कार्यालय प्रमुखले कार्यक्षेत्र छोडेका छन् । गृह मन्त्रालयले एक महिना अगाडी परिपत्र गदै मनसुन अवधिभर प्रमुख प्रशासकीय अधिकृत र कार्यालय प्रमुखलाई कार्यक्षेत्र नछोड्न निर्देशन गरेको थियो । तर कालिकोटका अधिकांश कार्यालय प्रमुखले जिल्ला छाडेको लामो समय भइसकेको छ ।
अहिले पालाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, पचालझरना गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी, नरहरीनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, तिलागुफा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देव किरण बुढा, महावै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर प्रकाशबहादुर शाहीले कार्यक्षेत्रमा छैनन् । उहाँहरू कोही सुर्खेत त कोही काठमाडाैँ रहेका छन् । महावैका प्रमुख प्रशासकीय अधिकृत प्रकाशबहादुर शाहीले आफूलाई गृहको परिपत्र वारे जानकारी नभएको बताउनुभयो ।
यस्तै शुभकालीका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाही, रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवान सिहँ बम, खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजङ शाही सुर्खेतमा रहनु भएको छ । उहाँहरूले जिल्ला छोडेको पनि दुई हप्ता बढी भइसकेको छ । कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले गृह मन्त्रालयको परिपत्रमा मनसुन अवधिमा जिल्ला छोड्नु परेमा प्रशासनलाई जानकारी गराएर जानु पर्ने र लामो समय कार्यक्षेत्र बाहिर बस्न नपाइने भन्ने थियो । आजको गोरखापत्र दैनिकबाट