मिडियाको आर्थिक समस्या समाधान गर्न अर्थमन्त्रीसँग एलायन्सको आग्रह

17.4k Shares

काठमाडौं । मूलधारका व्यावसायिक मिडियाको छाता संगठन मिडिया एलायन्स नेपालले अहिले मिडिया उद्योगले आर्थिक, प्राविधिक र व्यवस्थापकीय समस्याको सामना गरिरहेकाले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको मिडियालाई अझ सशक्त बनाउन सरकारले केही विषयमा सहजीकरणका साथ सहुलियत दिनुपर्ने माग गरेको छ ।

मिडिया एलायन्सले बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी विज्ञापनमा एकद्वार नीति अपनाउनसमेत आग्रह गरेको छ ।

मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले मिडिया कोरोनापछि आर्थिक संकटमा गुज्रिरहेको बताउँदै बिनाधितो ३ प्रतिशत ब्याजमा ५ देखि २५ करोडसम्म कर्जा उपलब्ध गराउन अर्थमन्त्रीसमक्ष माग गरे ।

सो भेटमा अर्थमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष राजकर्णिकारले केही वर्षदेखि आएका विनाशकारी महामारी एवं त्यसपछिको विश्वव्यापी आर्थिक संकटका कारण मिडिया उद्योग संकटग्रस्त अवस्थामा पुगेको उल्लेख गरे ।

सुस्त अर्थतन्त्रका कारण मिडिया उद्योगले संकट भोगिरहेको बताउँदै अध्यक्ष राजकर्णिकारले यसको समाधान गर्न सरकारले सहयोग गरी लोकतन्त्रको जग बलियो पार्नुपर्ने बताए ।

नेपालबाट अनधिकृत रूपमा वार्षिक ८ अर्ब रुपैयाँ सामाजिक सञ्जालबाट विज्ञापनका रूपमा बाहिरिएको र यसलाई रोक्न सरकारले यथाशीघ्र पहल गर्नुपर्ने पनि एलायन्सले माग अगाडि सारेको छ ।

नेपालको सञ्चार क्षेत्रले राजनीतिक परिवर्तन एवं आर्थिक विकासका लागि राष्ट्र र जनताका पक्षमा निरन्तर गरेको योगदान र आगामी दिनमा खेल्न सक्ने भूमिकालाई उल्लेख गर्दै एलायन्सले मूलप्रवाहका सञ्चार माध्यम कमजोर हुँदा समाजमा गलत सूचना प्रवाह हुने, नागरिक दिग्भ्रमित हुने र त्यसको प्रत्यक्ष असर राजनीतिदेखि सबै क्षेत्रमा पर्ने उल्लेख गरेको छ ।

सम्बन्धित समाचार