पाइँदैन डिडिसीको दुग्ध पदार्थ

16.8k Shares

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले गत जेठ २८ गते एक सूचना प्रकाशित गरी धुलो दुध र बटर बिक्रीका लागि सिलबन्दी प्रस्ताव आह्वान गर्यो । आह्वान अनुसार धुलो दुध बिक्रीवितरण भए पनि मखन बिक्री भएको छैन । 

डिडिसीले धुलो दुध र मखन बिक्रीका लागि यस्तो आह्वान गरेको मात्र होइन, झोल दुध, दही, घिउलगायतका दुग्ध पदार्थ बिक्रीका लागि बेला बेलामा आह्वान गरिरहेको हुन्छ । आह्वान त गर्छन् तर उपभोक्ताले खोजेका बेला डिडिसीले उत्पादन गरेको दुग्ध पदार्थ पाउँदैनन् । बढी भएको दुग्ध पदार्थ बिक्री नभएका कारण किसानलाई भुक्तानी गर्न समस्या भइरहेको भनी डिडिसीले मौज्दात रहेको दुग्ध पदार्थ बिक्री गर्न अनेक उपाय लगाइरहेको हुन्छ तर पनि डिडिसीले सोचे जस्तो बिक्री गर्न सकिरहेको छैन । 

यसका कारण हो बजारसम्म पहुँच । डिडिसीले उत्पादन गरेको दुग्ध पदार्थ उपत्यकामा नै सबै ठाउँमा पाइँदैन । उपभोक्ताले खोजेका बेला, खोजेको ठाउँमा पाएका हुँदैनन् । कोटेश्वरमा किराना पसल सञ्चालन गर्दै आएकी कल्पना घिमिरे वितरकले चार प्याकेट दुध दिएर जान्छन् तर चार वटा प्याकेट दुध दुई जना ग्राहकलाई पनि नपुगेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “त्यो चार वटा दुधको प्याकेट दुई जना ग्राहकले लैजान्छन् अरू ग्राहक फर्केर जान्छन् । वितरणसँग थप दुध माग्दा यति मात्रै छ, सबैलाई पुर्याउनु पर्छ भन्दै जान्छन् ।” यो समस्या कल्पनाको मात्र होइन, शङ्खमूलका किराना पसले मानबहादुर तिमिल्सिनाको पनि रहेको छ । उहाँले पनि डिडिसीको दुध र घिउ खोज्न ग्राहक आउँछन् तर आफूले दिन नसकेको बताउनुहुन्छ । डिडिसी ब्रान्डका दुग्धजन्य पदार्थ खोज्ने धेरै छन् तर नपाएपछि बाध्य भएर अरू दुध, दही लिएर जाने गरेको उहाँले बताउनुभयो । निजी क्षेत्रका कम्पनीहरू जतिबेला पनि गाडीमा दुध, दही, घिउलगायतका सामान बिक्री गर्दै हिँडेका देखिन्छन् तर डिडिसीबाट बिहान एक पटक पुर्याइदिन्छन्, त्यसपछि कहीँकतै कसैलाई देखिएको हुँदैन ।

यो समस्या कोटेश्वरमा मात्र होइन उपत्यकाभित्र नै रहेको छ । उपभोक्ताको रोजाइमा डिडिसीको उत्पादन रहेको छ तर खोज्दा बजारमा पाइँदैन । डिडिसीले एक पटक बजारमा पुर्याइसकेको दुध फिर्ता नलिने गरेका कारण पनि पसलेहरू पर्याप्त मात्रामा डिडिसीको दुध लिन हिचकिचाइरहेका हुन्छन् । 

यता डिडिसीका व्यवस्थापकले दुग्ध पदार्थ बिक्री नभएर मौज्दात बढ्दै गएको दाबी गर्दै आएका छन् । उपत्यकाभरि डिडिसीका चार वटा वितरक र एक हजार दुई सय वटा बुथ नै छन् । तैपनि उपभोक्ताको घर घरमा डिडिसीको दुग्धजन्य पदार्थ पुगेको छैन । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार