नवनियुक्त अर्थमन्त्रीद्वारा आर्थिक विधेयक संशोधन

12.9k Shares

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नियुक्तिकै दिन प्रतिनिधिसभाबाट पारित भएको आर्थिक विधेयक २०८१ लाई चुनौती दिँदै राष्ट्रिय सभाबाट संशोधन पेस गर्दै पारित गराएका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलले आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलले सो उपदफामा रहेको ‘तर’ पछि ‘स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्डमा’ भन्ने शब्द थप गरी संशोधन प्रस्ताव राष्ट्रिय सभामा पेस गरेका हुन् ।

यसैगरी, राष्ट्रिय सभाले नयाँ अर्थमन्त्री पौडेलले आयकर ऐनको दफा ५७ मा गर्न लागेको संशोधन पनि स्वीकार गरेको छ ।

साबिकको व्यवस्थानुसार कुनै कम्पनीको ५० प्रतिशतभन्दा माथिको सेयर स्वामित्व किनबेच गरेको अवस्थामा नियन्त्रणमा परिवर्तन भएको मानी २५ प्रतिशत कर लाग्ने गरेको छ । यसउपर प्रतिबन्धात्मक वाक्य राखेर साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुनेछैन भन्ने व्यवस्था गरिएको छ ।

संशोधनपछि १० लाख पुँजी भएको कुनै कम्पनीमा बाहिरको लगानीकर्ताले २० लाख थप लगानी गरी नियन्त्रणमा परिवर्तन गरेको अवस्थामा कम्पनीले लाभकर तिर्नु नपर्ने प्रावधान हटेको छ ।

सम्बन्धित समाचार