काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अन्ततः दलसँग झुकेर २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्नुभएको छ। उहाँले मंगलबार सम्पन्न १५औं नगरसभाको पाँचौं बैठकबाट २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्नुभएको हो।
कार्यपालिकाको सदस्यको तर्फबाट नेपाली कांग्रेसबाट प्रवक्तासमेत रहनुभएका वडा नं १७ का अध्यक्ष नवीन मानन्धर, एमालेका ३२ नम्बर अध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीको तर्फबाट १५ नम्बरका अध्यक्ष ईश्वरमान डंगोलले १ सय ६० जना कार्यपालिकका सदस्यको सहमति लिएर २८ बुँदे संशोधन प्रस्ताव तयार गर्नुभएको थियो ।
चौथो बैठक इन्कार गरेका मेयर साहले मंगलबार सम्पन्न पाँचौं बैठकमा संशोधन प्रस्ताव स्वीकार गर्नुभएको थियो । कार्यपालिका सदस्य एवं प्रवक्ता मानन्धरले हिजो बुधबार मेयर साहले कार्यपालिकाले तयार गरेको २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्ने बताउनुभएको थियो । तर, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले केही बुँदामा मात्र संशोधन भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘संशोधन गरिरहेका छौं, केही दिनमा जानकारी होला।’ उहाँले प्रवक्ताले दिएको विषयमा समेत प्रस्ट जानकारी दिनुभएन ।
यसअघि मेयर साहले नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीले अघि सारेको संशोधन प्रस्तावलाई ठाडै अस्वीकार गर्दै दलमाथि कडा आलोचना गर्नुभएको थियो । उहाँले पार्टीको नामबाट जोडिएका नेताको नाममा बजेट व्यवस्थापन गर्न नसक्ने समेत चेतावनी दिनुभएको थियो । ‘अन्ततः मेयर साहले दलको प्रस्ताव स्वीकार गर्नुभएको छ, निर्दलीय मेयर साह दलसँग झुक्नुभएको छ’ –कामपा २२ का अध्यक्ष चिनीकाजी महर्जनले भन्नुभयो ।
कामभन्दा आलोचनामा बढी समय खर्चिने गरेका साहले दलको दबाबमा संशोधन बुँदा राखेर बजेट पारित गर्नुभएको थियो । अब ६२ बुँदे नीति तथा कार्यक्रममा संशोधन भएका २८ बुँदासहित ६२ बुँदे कार्यक्रम पारित भएको छ । असार १४ गतेबाट स्थगित बैठक असार २५ गते सम्पन्न भएको थियो ।
यसअघि १४ गते सोसल मिडिया एक्समा ‘एमाले र कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नुभयो । मैले स्वतन्त्र चार सहिदको नाममा गरौं भनेँ, सायद कांग्रेस एमालेले नेपालको क्रान्तिमा उहाँभन्दा कांग्रेस र एमालेको नेताहरूको योगदान देख्नुभयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो’ भनी लेख्नुभएको थियो । बैठक स्थगित भएपछि कामपाको बजेट सार्वजनिक भएर पनि पास हुन सकेको थिएन । आजको नेपाल समाचारपत्र दैनिकबाट