काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकालगायत मुुलुकभरको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछिको बाढी पहिरोका कारण काठमाडौंसहित मुलुकका विभिन्न भागमा गरी तीन जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । मुलुकका अधिकांश राजमार्ग बाढी पहिरोको चपेटामा परेको छ
अविरल वर्षाका कारण काठमाडौंको नागार्जुन नगरपालिका–३ मा शनिबार बिहान खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेस्टुरेन्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेस्टुरेन्टमा काम गर्ने २२ वर्षका मनोज विकको मृत्यु भएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको जानकारी दिए ।
यसैगरी, स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा खनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । पहिराको जोखिममा परेपछि आफ्नो घरबाट सुरक्षित स्थानमा जाँदै गर्दा उनीहरू पहिरोमा पुरिएका हुन् ।
बिरुवा गाउँपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । उक्त पहिरामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरीचौकीको टोलीले उद्धार गरेको थियो ।
पर्वतमा पहिरोले दुई जना पुरिएका छन् । फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरो जाँदा दुई जना बेपत्ता हुन् । स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइएको छ । भैंसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीप्रसाद शर्मा बेपत्ता भएका हुन् ।
यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीनवटा घर बगेका छन् । आजको राजधानी दैनिकबाट