सामाजिक सुरक्षा भत्ताको अभाव भइरहँदा करोडौं खर्चेर जम्बो टोली विदेश जाँदै

16.9k Shares

काठमाडौं । मुलुकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने रकमको समेत अभाव भइरहँदा अर्थ मन्त्रालयले करोडौं रुपियाँ खर्च गर्दै जम्बो टोलीलाई विदेश भ्रमणमा पठाउने तयारी गरेको छ। आर्थिक मितव्ययिताको समेत धज्जी उडाउने गरी जम्बो टोलीलाई विदेश पठाउन लागिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरू विदेश भ्रमणमा जाने प्रवृत्ति अत्यधिक बढेको भन्दै रोक्न निर्देशन दिए पनि अर्थ मन्त्रालयले नै अटेर गर्दै तीन दर्जन बढीको जम्बो टोलीलाई युरोप, अस्ट्रेलिया तथा थाइल्यान्डलगायत एसियाका विभिन्न देशमा पठाउने भएको हो ।

आर्थिक वर्षको अन्तिममा मन्त्रालयले गर्नुपर्ने विभिन्न महत्वपूर्ण कार्यलाई थाती राख्दै अर्थ मन्त्रालयले करोडौं रुपियाँ खर्चने गरी जम्बो टोलीलाई विदेश भ्रमणमा पठाउने निर्णय गरे पनि प्रधानमन्त्रीले आफ्नो निर्देशनअनुसार सो भ्रमणलाई रोक्न पहल गर्नुभएको छैन । अर्थ मन्त्रालय र त्यहाँका कर्मचारीहरूले पनि प्रधानमन्त्रीको निर्देशनको ठाडो उल्लंघन गर्दै विदेशमा मोजमस्ती गर्ने गरी भ्रमणको तयारी गरेका छन् । अर्थमन्त्री वर्षमान पुन र अर्थ सचिव मधु मरासिनीले मन्त्रालयले बनाएको आर्थिक मितव्ययितासम्बन्धी निर्देशिकाको धज्जी उडाउँदै १५ दिनको अन्तरालमा मन्त्रालयका ३९ जना कर्मचारीलाई विदेश भ्रमणको स्वीकृति दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अर्थ मन्त्रालयलगायत सबै मन्त्रालयलाई आर्थिक वर्षको अन्तिमको समयमा विदेश भ्रमण नगर्न र सरकारको नीति तथा कार्यक्रममा मन्त्रालयगत माइलस्टोन बनाउनुपर्ने भएकाले असार र साउन महिनामा सकेसम्म कुनै पनि कर्मचारीलाई विदेश जान नदिन निर्देशन दिएको थियो । तर, प्रधानमन्त्री कार्यालयको सो निर्देशन अर्थ सचिव मरासिनी आफैंले उल्लंघन गर्नुभएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने रकमसमेत अभाव भइरहेको अवस्थामा कर्मचारीहरू मनपर्दी रूपमा लाखौं खर्चेर विदेश भ्रमण जान लागेको भन्दै आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेर यो भ्रमण रोक्नुपर्ने माग अर्थ मन्त्रालयभित्रै उठ्न थालेको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार