स्थायी सरकारका ८५,५२० कर्मचारीमध्ये को, कहाँ र कति ?

16.6k Shares

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा गरी स्थायी सरकार हाँक्ने कुल कर्मचारी संख्या हाल ८५ हजार ५ सय २९ जना छन्।

जसमध्ये सबैभन्दा बढी स्थानीय तहमा ३२ हजार ८ सय ८ जना रहेका छन् भने संघमा ४१ हजार ५ सय ६३ र प्रदेशमा ११ हजार १ सय ३८ जना रहेका छन् । निजामती सेवामा विभिन्न सेवा समूहका कर्मचारी रहेका हुन्छन् ।

राष्ट्रिय किताबखानाका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कुल कर्मचारी दरबन्दी भने १ लाख ३९ हजार २ सय २२ रहेको छ। तीनवटै तहमा दरबन्दीभन्दा न्यून कर्मचारी रहेको किताबखानाले जनाएको छ। सरकारले समयमा नै कर्मचारी पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा तीनवटै तहमा दरबन्दीअनुसारका कर्मचारी रहन सकेका छैनन् ।

यद्यपि, केन्द्रका कतिपय मन्त्रालय र निकायमा भने दरबन्दीभन्दा बढी कर्मचारी छन् तर जिल्लाका कतिपय कार्यालय र दुर्गम स्थानका सरकारी कार्यालयमा दरबन्दीभन्दा निकै न्यून कर्मचारी रहेका छन् । दुर्गम क्षेत्रमा कर्मचारी नहुँदा सेवा प्रवाह कमजोर बन्दै आइरहेको बताइन्छ।

किताबखानाका अनुसार संघमा कर्मचारीको कुल दरबन्दी ५३ हजार ३ सय २५ रहेकोमा ४१ हजार ५ सय ६३ जना मात्रै कार्यरत छन् । यसै गरी प्रदेशमा कुल दरबन्दी २० हजार ४ सय ८३ रहेकोमा ११ हजार १ सय ३८ जना मात्रै कार्यरत छन् । यसै गरी स्थानीय तहमा ६५ हजार ४ सय १४ दरबन्दी रहेकोमा ३२ हजार ८ सय ८ जना कर्मचारी मात्रै कार्यरत रहेको राष्ट्रिय किताबखानाले जनाएको छ।

संघमा श्रेणी तथा तहगत कर्मचारीको विश्लेषण गर्दा सबैभन्दा बढी राप अनंकित प्रथम श्रेणी (सुब्बा) स्तरका कर्मचारी सबैभन्दा बढी ११ हजार ९ सय ११ जना रहेका छन्। यसै गरी दोस्रो बढीमा शाखा अधिकृत तथा अधिकृतस्तरका कर्मचारी ७ हजार ७ सय ३६ जना रहेका छन्। यस्तै, रापअनंकित द्वितीय श्रेणी (खरिदार) स्तरका कर्मचारीको संख्या ६ हजार ६ सय १० रहेको छ।

यस्तै, संघ सरकारका श्रेणीविहीन कर्मचारीको संख्या ५ हजार ८ सय २ रहेको छ । यसै गरी संघमा उपचिवस्तरका कर्मचारीको संख्या २ हजार ७ सय ३१ रहेको छ भने सहसचिवस्तरका कर्मचारी ५ सय ९० जना रहेका छन् । सचिवस्तरका कर्मचारीको संख्या ७० रहेको छ । विशिष्ट श्रेणीका मुख्य सचिव १ र मुख्य रजिस्टार गरी १ पद रहेको छ ।

यसै गरी प्रदेश सरकारमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारीको संख्या १ हजार ७ सय सय ५३ जना रहेका छन् भने सातौं तहका अधिकृत १ हजार २६ जना रहेका छन् । यसै गरी प्रदेशमा खरिदार तहका कर्मचारी ४ सय १७, सुब्बास्तरका २ सय ३९ जना, अधिकृतस्तरका २ सय ४२ जना, उपसचिवस्तरका १ सय ६ जना, सहसचिवस्तरका ५५ जना, सचिवस्तरका ४ जना रहेका छन् ।

राष्ट्रिय किताबखानाका अनुसार स्थानीय तहमा सातौं तहका सबैभन्दा बढी ८ सय ७३ जना, श्रेणीविहीन ७ सय ४५, सहायक पाँचौं ५ सय ५७, अधिकृतस्तरका ३ सय ९७, उपसचिवस्तरका १ सय ७२, सहसचिवस्तरका १२ जना रहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार