काठमाडौं । नागरिकको भरोसाको मत पाएको दाबी गर्दै पार्टी स्थापनाको एक वर्षमै प्रतिनिधिसभामा २१ सिटसहित संसदको पाँचौं ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएसँगै आन्तरिक र बाह्य दबाबमा परेको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहितको गठबन्धनमा बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गएपछि पार्टीको जनमतमा क्षयीकरण भएको स्वमूल्यांकन सार्वजनिक भएपछि झनै आन्तरिक असन्तुष्टिलाई थप बल पुगेको छ।
पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टी विवेकशीलजस्तो क्षीण अवस्थामा पुग्ने सम्भावनासहितको प्रतिवेदन बुधबार पार्टी अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाउनुभएको छ।
इलाम क्षेत्रनम्बर २ को चुनावी परिणामपछि देशव्यापी कार्यकर्तासँग छलफल गरेर फर्किएका महामन्त्री ढकालले प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको दाबी पेस गर्दै भन्नुभएको छ– ‘पार्टीको वर्तमानमा जनमत छैन, जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला। भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ।’
उहाँले आफू सम्मिलित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भन्दा पनि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसहितका स्वतन्त्र मेयरसँग मिल्नका लागि सबैभन्दा उपयुक्त हुने सुझाव आएको उल्लेख गर्नुभएको छ। पार्टी महामन्त्री ढकालले बुझाएको यस्तो प्रतिवेदनलाई पार्टीको आन्तरिक र बाह्य रूपमा समेत चासोका साथ हेरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट