काठमाडौं । किलोवाट छली प्रकरणमा बीवाईडी गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानले छापा मारेर कागजात नियन्त्रणमा लिए पनि साइमेक्सलाई बचाएर उन्मुक्ति दिन खोजेको आरोप लाग्न थालेको छ ।
करको सूचना चुुहाएर अर्बौंका गाडी आयात गरेर पनि कम किलोवाटका गाडी बिक्री वितरण गरेको अभियोग बीवाईडी गाडीको आयातकर्ता साइमेक्स इंकलाई लागेको छ ।
साइमेक्स इंकले नेपालमा विद्युतीय गाडीको क्षमता नाप्ने उपकरण नभएको मौका छोपर विद्युतीय गाडीमा छली गरेको आरोप लागेको छ । तर, राजस्व अनुसन्धान विभागले उपकरण नभएकै आधारमा साइमेक्सलाई उन्मुक्ति दिन लागेको बताइएको छ ।
राजस्व अनुसन्धान विभागले चिनियाँ गाडी बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इंकमाथि भन्सार जाँचपास गर्दा वर्षौंदेखि राजस्व चुहावट गरेको भन्दै अनुसन्धान गरिरहेको छ । विद्युतीय गाडीको किलोवाटलगायत त्यसको क्षमता नाप्ने उपकरण खरिद गर्दा केही लाख रुपैयाँ मात्रै खर्च हुने भए तापनि आयातकर्तासँगको मिलेमतोमा भन्सारमा उपकरण नराखेर आयाताकर्ताले भनेको भरमा गाडीको मूल्यांकन हुँदै आएको पनि बताइएको छ ।
मिलेमतोमा उपकरण खरिद नगरेको र अहिले उजुरी परेपछि उन्मुक्ति दिनका लागि फाइल मात्र कब्जामा लिएको आरोप पनि लागेको छ । अहिलेसम्म ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली भएको बताइएको छ । आजको राजधानी दैनिकबाट