अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा

14.5k Shares

काठमाडौं – भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’काे खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनायो ।

उसका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए पनि टाेलीलाई जित दिलाउन सकेनन् । ४३ बलको सामना गरेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । उनलाई भारतका जसप्रीत बुमराहले रोहित शर्माको हातबाट क्याच आउट गराएका थिए ।

त्यस्तै कप्तान मिचेल मार्श २८ बलमा ३७ रन बनाएर आउट भए । आउट हुनुअघि उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए । उनलाई भारतका कुलदीप यादवले अक्षर पटेलबाट क्याच आउट गराए ।

खेलको पहिलो ओभरमा नै अस्ट्रेलियाका डेभिड वार्नर आउट भएका थिए । वार्नरले ६ बलमा एक चौकासहित ६ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ तथा मार्कस स्टोइनिसले २ रनको योगदान दिए ।

भारतका लागि अर्शदीप सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए । त्यस्तै कुलदीप यादवले दुई विकेट लिदा जसप्रीत बुमराह र अक्षर पटेलेको नाममा एकएक विकेट रह्यो ।

त्यसअघि सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । जारी विश्वकपमा भारतले पहिलो पटक दुई सय रनको आँकडा पार गरेको हो ।

सम्बन्धित समाचार