काठमाडौं । सरकारले कूटनीतिक नियोगको क्षेत्रलाई कर्मचारीको अवकाशपछि आराम गर्ने थलोका रूपमा परिणत गर्ने संकेत देखाएको छ । पूर्वसचिव, मुख्यसचिव, गैरसरकारी संस्थाका कर्मचारीलाई सरकारले कूटनीतिक नियोगमा नियुक्ति गर्ने परम्परा बनाएको छ । मन्त्रिपरिषद्ले शुक्रबार गरेको निर्णयअनुसार पूर्वमुख्यसचिव तथा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई भारतका लागि मनोनयन गरेको छ । रेग्मी एमालेको कोटामा भारतका लागि राजदूतका लागि सिफारिस भएका हुन् । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ असोज महिनामा बेलायतका लागि राजदूतमा सिफारिस गरेको थियो ।
सरकारले तत्कालीन समयमा परराष्ट्र सचिव शंकर दास वैरागीलाई मुख्य सचिव बनाउन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको थियो । राजदूतको प्रस्ताव आएपछि रेग्मीले अवकाश हुनु एक महिनाअघि राजीनामा दिएर शंकरदास वैरागीलाई मुख्यमन्त्रीको बाटो खुला गरिदिएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ असोज ५ गते रेग्मीलगायत १२ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारले अहिले फेरि रेग्मीलाई शुक्रबार राजदूतमा सिफारिस गरेको छ । रेग्मीले गृहसचिव, अर्थ सचिव र भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयमा सचिवको पद पनि सम्हालेका छन् ।
भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई सरकारले गत असार ६ गते फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णयले कूटनीतिक तहका नेपालको कमजोर अवस्था देखिएको थियो । भारतमा आफ्नो देशको राजदूत खाली गराएर गरिएको भ्रमणले पनि ठूलो अर्थ राख्ने गर्छ । राजदूत फिर्ता बोलाएर भारत भ्रमण गर्नुले नेपालको निम्छरो कूटनीतिक अवस्था देखिएको थियो । उनै फिर्ता बोलाइएका राजदूत शर्मासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा प्रधानमन्त्री दाहाल सहभागी भए ।
त्यस्तै, सरकारले पूर्ववाणिज्य तथा उद्योग सचिव चन्द्र घिमिरेलाई अमेरिकाका लागि नेपालको नयाँ राजदूतमा नियुक्त गरेको छ । नेपाली कांग्रेसको कोटामा नियुक्त भएका वर्तमान राजदूत श्रीधर खत्रीलाई फिर्ता बोलाइएको छ । त्यस्तै, विजन पन्त बेलायतका लागि नेपालको नयाँ राजदूतमा नियुक्त भएका छन् । पन्तले यसअघि प्रधानमन्त्री सुशील कोइरालाको सामाजिक विकास सल्लाहकार र अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई)को सल्लाहकारका रूपमा काम गरेका थिए । उनको नाम नेकपा (माओवादी केन्द्र)को कोटाअन्तर्गत भएको हो । आजको राजधानी दैनिकबाट