काठमाडौं ।bविद्युतीय गाडीको क्षमता नाप्ने उपकरण नहुँदा विद्युतीय गाडीको आयातमा सरकारले अर्बाैं रुपियाँ राजस्व नोक्सनी व्यहोर्दै आएको छ।
राजस्व छली भएको आशंकामा राजस्व अनुसन्धान विभागले चिनियाँ गाडी बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इंकमाथि अनुसन्धान गर्ने क्रममा भन्सार बिन्दुमा विद्युतीय गाडीको दक्षता नाप्ने उपकरण नहुँदा आयातकर्ताले भनेकै आधारमा भन्सार जाँचपास गर्दा वर्षौंदेखि राजस्व चुहावट हुँदै रहस्य खुल्न थालेको हो।
विद्युतीय गाडीको किलोवाटलगायत त्यसको क्षमता नाप्ने उपकरण खरिद गर्दा केही लाख रुपियाँ मात्रै खर्च हुने भए तापनि आयातकर्तासँगको मिलेमतो भन्सारमा उपकरण नराखेर आयाताकर्ताले भनेको भरमा गाडीको मूल्यांकन हुँदै आएको पाइएको छ।
जसले गर्दा अहिलेसम्म ५ अर्ब रुपियाँभन्दा बढी राजस्व छली भएको सरकारको प्रारम्भिक अनुमान छ। नेपालमा बीवाईडीका गाडीमा आयात गर्दा बढी किलोवाटलाई कम किलोवाट देखाएर भन्सार जाँचपास गराएको विषयमा विभागले साइमेक्स इंकको कारोबारमाथि अनुसन्धान अगाडि बढाएको छ। सोही प्रक्रियाअनुरूप विभागले साइमेक्स इंकका कागजपत्र नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले सो कम्पनीमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–‘चिनियाँ गाडी बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इंकले गाडीको किलोवाट कम देखाएर राजस्व छली गरेको भन्ने सूचनाका आधार कम्पनीमाथि अनुसन्धान भइरहेको छ। भर्खरै कम्पनीका कागजपत्रहरू विभागमा ल्याइएको अवस्था छ। त्यसको अध्ययन गर्ने तथा गाडीहरूको प्राविधिक जाँचका साथै आवश्यक परेको खण्डमा गाडी उत्पादन हुने ठाउँसम्मै गएर पनि अध्ययन गर्ने विभागको तयारी छ।’ आजको नेपालसमाचारपत्र दैनिकबाट