बैंकक । थाइल्यान्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब थाइल्यान्ड समलिंगी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ ।
माथिल्लो सदनमा मंगलबार उपस्थित १५२ सदस्यमध्ये विधेयकको पक्षमा १३०, बिपक्षमा ४ र १८ अनुपस्थित भएसँगै विधेयक बहुमतका साथ पारित भएको हो ।
यो विधेयक अब औपचारिक स्वीकृतिका लागि राजा महा भाजिरालोङ्गकोर्नका समक्ष प्रस्तुत गरिनेछ र शाही राजपत्रमा प्रकाशित भएको १२० दिनपछि लागु हुने अल जजिराले बताएको छ ।
ताइवान र नेपालपछि समलिंगी विवाहलाई अनुमति दिने कानुन लागु गर्ने थाइल्यान्ड तेस्रो एसियाली मुलुक हुनेछ ।समलिंगी अधिकारकर्मीहरूले थाइल्यान्डको यस कार्यको उच्च प्रशंसा गरेका छन् ।
विधेयकले पुरुष, महिला, पति र पत्नीलाई लैंगिक–तटस्थ शब्दमा पुनः नामाकरण गरेको छ र विवाहलाई दुई व्यक्तिहरू बीचको साझेदारीको रूपमा परिभाषित गरेको छ ।
थाइल्यान्डमा लेस्बियन, समलिंगी, उभयलिंगी वा ट्रान्सजेन्डर समुदायको जनसंख्या बढ्दो क्रममा रहे पनि अधिकारकर्मीले वर्षौदेखी परम्परागत विश्वासका विरुद्ध लडिरहेका थिए ।
“हामी इतिहास बनाउन पाउँदा निकै गर्व गर्छौं,” समलिंगी विवाहसम्बन्धी संसदीय समितिका सदस्य प्लाइफाह क्योका सोडलादले भने।