काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै बिहान पौने १० बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
सो अवसरमा दुईदेश बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।
जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरेका थिए ।