काठमाडौं । गृह मन्त्रालयले देशभरमा लामो समयदेखि अतिक्रमणको चपेटामा पर्दै आइरहेका सार्वजनिक तथा सरकारी जग्गाबाट अतिक्रमणकारीलाई हटाउने अभियानलाई तीव्रता दिएको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन तथा समन्वयमा मन्त्रालयका सचिव एकनारायण अर्यालको निरन्तरको प्रयासका कारण विभिन्न जिल्लामा सार्वजनिक जग्गा अतिक्रमणको चपेटाबाट मुक्त बनाउने अभियानले निरन्तरता पाइरहेको छ।
गृह मन्त्रालयका अनुसार देशभरमा लाखौं बिघा तथा रोपनी सरकारी तथा सार्वजनिक जग्गा वर्षौंदेखि अतिक्रमणको चपेटामा पर्दै आइरहेको छ । यस्तो अतिक्रमणलाई हटाउन गृहमन्त्री र सचिव आफैं एक्सनमा लागेपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले पनि सक्रियता देखाउन थालेका छन् ।
सचिव अर्याल मन्त्रालयमा सचिवका रूपमा आउनुभएको ३० जेठमा ३ महिना पुग्यो । यस अवधिमा उहाँले मन्त्री लामिछानेसँगको समन्वयमा अतिक्रमण भएका सार्वजनिक जग्गालाई अतिक्रमबाट मुक्त बनाउने योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनुभएको हो। सोअनुसार गत दुई महिनाको अवधिमा विभिन्न १० वटा जिल्लाबाट ५ सय ८६ बिघा र ६३ रोपनी सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाइएको छ।
गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालको प्रत्यक्ष निर्देशनमा अहिले मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग अतिक्रमण भएको जग्गाको अवस्था र दैनिक रूपमा अतिक्रमण हटाउन उनीहरूले गरेको कामको प्रगति विवरण माग्ने काम गरिरहेको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मन्त्री तथा सचिवको प्रत्यक्ष निर्देशनमा मन्त्रालयले दैनिक रूपमा नै ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट अतिक्रमण हटाउन गरिएका कामको प्रगति विवरण माग्ने गरिएको बताउनुभयो। आजको राजधानी दैनिकबाट