बिपी राजमार्गमा घण्टौँको जाम अनि कष्टकर यात्रा

11.8k Shares

काठमाडौँ । असोजको दोस्रो साता परेको वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गमा यात्रुहरू कष्टकर यात्रा गरिरहेका छन् । धुलाम्मे र साँघुरो सडकमा घण्टौँको जाम, कतै खाल्टाखुल्टी त कतै खोला तर्दै र पैदल यात्रासम्म गर्दै यात्रुहरू गन्तव्यमा पुग्छन् ।

सानो पानी पर्दा पनि रोसी खोला राजमार्ग भएर बग्ने, लेदो बग्ने अवस्था छ भने ठाउँ ठाउँमा सुक्खा पहिरो जाने जोखिम रहेकाले ढुक्क भएर सवारीसाधन चलाउन सक्ने अवस्था छैन । सवारीसाधन कम्तीमा चार पाँच घण्टा ढिलो गरी गन्तव्यमा पुग्ने गरेका छन् । पानी पर्नेबित्तिकै राजमार्ग नै बन्द हुने अवस्था छ । 

यो राजमार्ग भएर काठमाडौँदेखि बर्दीबाससम्म यात्रुवाहक विद्युतीय गाडी (इभी) चलाउँदै आउनुभएका चालक रूपक तामाङले अहिले बिपी राजमार्गको यात्रा कष्टकर र जोखिमपूर्ण रहेको बताउनुभयो । “पहिला काठमाडौँबाट बर्दीबास पुग्न बढीमा छ घण्टासम्म लाग्थ्यो भने अहिले कति समय लाग्छ भन्न सकिन्न । दस घण्टा पनि लाग्न सक्छ, १२ घण्टा पनि लाग्न सक्छ,” उहाँले भन्नुभयो, “जाम भयो भने कति घण्टा लाग्छ भन्न सकिन्न ।”

राजमार्गको २७ किलोमिटर बाटो बिग्रेको बताउँदै उहाँले नेपालथोकदेखि भकुन्डेबेँसी–ताप्चा पुलसम्मको यात्रा कष्टकर रहेको अनुभव सुनाउनुभयो । उहाँका अनुसार भकुन्डेबेँसीदेखि काभ्रेभन्ज्याङसम्म सुक्खा पहिरोका कारण जाम हुने गरेको छ । उहाँले यो खण्डमा चार घण्टासम्म जाममा बस्नुपरेको अनुभव सुनाउनुभयो ।

राजमार्गमा सुनौलो बिपी यातायात सेवा अन्तर्गत टाटासुमो चलाउनुहुने चालक बेचु मगरले हाल काठमाडौँबाट बर्दीबास पुग्न दस/एघार घण्टासम्म लाग्ने गरेको बताउनुभयो । उहाँले चौकी डाँडादेखि नेपालथोकसम्म ठाउँ ठाउँमा बाटो बगाएकाले खोलाको बाटो हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

टाटासुमोबाट बर्दीबास हुँदै काठमाडौँ आउनुभएका यात्री पुरुषोत्तम न्यौपानेले आफ्नै आँखा अगाडि सुक्खा पहिरोले राजमार्ग नै पुरिएको बताउँदै ज्यानलाई जोखिममा राखेर यो राजमार्गको यात्रा गर्नुपरेको अनुभव सुनाउनुभयो । सप्तकोशी यातायात प्रालिका अध्यक्ष देविन श्रेष्ठले नेपालथोक र मङ्गटारको बिचमा रहेको दुई वटा खहरे खोलामा ‘डाइभर्सन’ हालेर अहिलेभन्दा राम्रो अवस्थामा बिपी राजमार्गलाई सञ्चालनमा ल्याउन सक्ने सुझाव दिनुभयो । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार