काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई १६० रनको चुनौती दिएको छ । सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ गरेको बंगलादशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५९ रन बनायो ।
उसका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे । ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए । त्यस्तै तान्जिद हसनले २६ बलमा पाँच चौका र एक छक्का सहित ३४ रनको योगदान दिए । महमुदुल्लाहले २५ रन बनाउँदा जाकर अलीले १४ रन बनाए ।
नेदरल्याण्डसका लागि आर्यन दत्त र पॉल भ्यान मिकरेनले दुईदुई विकेट लिए । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
यस अघि दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।