काठमाडौं । प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठक सुरु भएको हो ।
संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकले थप रणनीति तय गर्ने नेताहरुले बताएका छन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, रामशरण महत, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सभागी छन् ।
राष्ट्रपतिले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गरेकी थिइन् । र, मन्त्रिपरिषद् बैठकको सिफारिसमा अर्ली इलेक्सन घोषणा गरेकी थिइन् ।
त्यसविरुद्ध विपक्षमा रहेका सबै राजनीतिक दलको धारणा आइसकेको छ । थप योजना बनाउन उनीहरू छलफलमा जुटेका हुन् ।