टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

20.3k Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रकरणमा मुछिएका तीन पूर्वमन्त्री, मुख्य सचिवलगायत माथिको अनुसन्धान पूरा भए पनि अख्तियारले मुद्दा दर्ता प्रक्रिया अगाडि बढाउन सकेको छैन । कर्मचारी जोगाउने या नेता जोगाउने भन्ने विषयमा अख्तियारकै पदाधिकारीबीच मतभेद चुलिँदा भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

टेरामक्स प्रकरणको कार्यान्वयन तहमा संलग्न भएकाहरूमा मात्रै मुद्दा दायर गर्ने कि राजनीतिक नेतृत्वमा रहेका मन्त्री र मुख्य सचिव, सचिवलाई पनि मुद्दा चलाउने भन्ने विषयमा अख्तियारका पदाधिकारीबीच कुरा मिल्न नसक्दा मुद्दा दर्ता प्रक्रिया अन्योल बनेको अख्तियार स्रोतले जनायो ।

टेरामक्स प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान पूरा भइसकेकाले सबैलाई मुद्दा दर्ता गर्दा टेरामक्स प्रकरणमा नीतिगत निर्णय र बजेट स्वीकृत गर्दा पूर्वसञ्चारमन्त्रीहरू मोहन बस्नेत, गोकुल बाँस्कोटा र ज्ञानेन्द्रबहादुर कार्कीमाथि मुद्दा चलाउनुपर्ने हुन्छ । त्यो प्रक्रियामा तत्कालीन सचिवहरू महेन्द्रमान गुरुङ, हालका मुख्य सचिव डा. बैकुण्ठ अर्याल र सचिव (तत्कालीन सहसचिव विनोदप्रकाश सिंह)को पनि संलग्नता रहेको देखिन्छ ।

स्रोतका अनुसार अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई मुख्य सचिव र सचिवलाई मुद्दा चलाउन नहुने पक्षमा छन् भने आयुक्त जयबहादुर चन्द र डा. सुमित्रा श्रेष्ठ अमात्य राजनीतिक दलका नेताहरूलाई मुद्दा नचलाएर कर्मचारीलाई मात्रै मुद्दा दर्ता गर्नुपर्ने पक्षमा छन् । यद्यपि, उनीहरूले मौखिक रूपमा मात्रै सो कुरा राखेको स्रोतले बतायो । एकातिर राजनीतिक दबाब र अर्कोतिर अख्तियारका पदाधिकारीबीच नै टेरामक्स प्रकरणमा मतभेदका कारण भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया रोकिएको छ । टेरामक्सको छानबिन पक्रिया पूरा भएको झन्डै ४ महिनाभन्दा बढी भइसक्दा पनि अन्योलता रहनुमा कसलाई जोगाउने भन्ने विषयका कारण ढिलाइ भइरहेको स्रोतले बतायो ।

१५ फागुन २०८० मा सार्वजनिक लेखा समितिमा पुगेका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै अदालतमा मुद्दा दायर हुने बताएका थिए । उनले समितिको बैठकमा भनेका थिए, ‘अनुसन्धान करिबकरिब अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु, केही समयभित्रै नतिजा आउनसक्छ ।’ तर, प्रमुख आयुक्त राईले टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता प्रक्रिया अझै बढाउन सकेका छैनन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार