सेन्चुरी बैंक घोटाला प्रकरणमा पक्राउ परेका श्रेष्ठसहित आठजना थुनामुक्त

17.5k Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित आठजना थुनामुक्त भएका छन् । सोमबार पक्राउ परेका उनीहरूलाई पहिलोपटक जिल्ला अदालतले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको थियो ।

बुधरबार दोस्रोपटक म्याद थपका लागि सीआईबीले अदालत पेस गरेको थियो । तर, उनीहरूको थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति नदिएपछि उनीहरू हाजिरी जमानीमा छुटेका हुन् । सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले अदालतबाट म्याद थप नभएको बताए ।

श्रेष्ठसहितको समूहले दुई अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम कमसल धितोमा दिएको खुलेपछि उनीहरू पक्राउ परेका थिए । पक्राउ पर्नेमा भोजपुरका श्रेष्ठसहित दैलेखका सुनीलकुमार न्यौपाने, ललितपुरका प्रा।डा। गीता प्रधान, सिरहाका रमेशकुमार निरौला, भोजपुरकै रणबहादुर श्रेष्ठ, काठमाडौंका राजेशकुमार दली, चितवनका उमाकुमारी श्रेष्ठ र मोरङका शिवगोपाल रिसाल थिए ।

रवीन्द्र चौलागाईंले सञ्चालन गरेको देउराली सहकारी र उनकै विभिन्न कम्पनीलाई कमसल धितोका आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरिएको खुलेको सीआईबीले जनाएको छ ।

सम्बन्धित समाचार