भरत ताल चलचित्र बनाउने थापा बने खलनायक

16.2k Shares

काठमाडौं । सर्लाहीको वागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापाविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ । वागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायतका नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड अनियमितता गरेको आरोपसहित अख्तियारले थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यसअघि थापाले ५ करोड ३३ लाख अनियमितता गरेको भन्दै अख्तियारले उनीविरुद्ध पहिलो मुद्दा दायर गरेको थियो।

यसै गरी अख्तियारले सोही भरत ताल निर्माणका क्रममा अनियमितता गर्ने नगरपालिकाका उपप्रमुख लीला कुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दोस्रो भ्रष्टाचार मुद्दा खेपेका थापाले भरत ताल शीर्षकमा चलचित्र बनाएर सो फिल्ममा आफैं नायकको भूमिकामा खेल्दै हुनुहुन्थ्यो। चलचित्र बनाउने क्रममा उहाँ नायक नभएर भ्रष्टाचारको आरोप लागेका खलनायक बन्नुभएको छ। उहाँविरुद्ध अख्तियारले सम्पत्ति शुद्धीकरणमा समेत छानबिन गर्ने भएको छ। साथै, उहाँमाथि अकुत सम्पत्तिमा पनि छानबिन हुने अख्तियारले जनाएको छ।

थापाले विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा संघीय सरकारअन्तर्गतको सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा स्वीकृतिबिना अनधिकृत रूपमा माछा पोखरी निर्माणको लागि भनी ढुंगा, गिटी, बालुवालगायत वन पैदावार उत्खनन् गरेको अख्तियारको निष्कर्ष छ। अख्तियारको प्रतिवेदनअनुसार, प्रारम्भिक परीक्षण प्रतिवेदन (आईईई) स्वीकृत भएको भन्ने गलत लिखत तयार गरेको पनि भेटिएको छ।

अख्तियारका अनुसार, वागमती नगर कार्यपालिकाबाट उक्त माछा पोखरीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको देखाए पनि बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृत नगरेको अनुसन्धानको क्रममा भेटिएको छ।

यस्तै, उहाँले नदीको बहाव प्रयोग गर्न पनि स्वीकृति नलिई माछा पोखरी (हाल ताल) निर्माणको काम अघि बढाउनुभएको थियो। सागरनाथ वन विकास परियोजना र नेपाल सरकारको स्वीकृतिविना माछा पोखरी–१ बाट १७ लाख ८८ हजार २६४ घनमिटर र वागमती माछा पोखरी–२ बाट २१ लाख ८४ हजार ९२७ घनमिटर वन पैदावार गरी ३९ लाख ७३ हजार घनमिटर उत्खनन् गरी अनियमितता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार