अमेरिकाको प्रलोभन देखाएर घाना पुर्‍याएर अलपत्र पार्थे, चार करोड ठगीको आरोपमा पक्राउ

13.8k Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने आश्वासन दिएर चार करोड ३३ लाख ६८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–३२ पुरानो सिनामंगल टाउनप्लानिङ (पेप्सिकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का रहेका छन् ।

खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाइदिने बताए आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो । ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

खड्काको ज्योति विकास बैंकको खातामा चार करोड ३३ लाख ६८ हजार रुपैयाँ विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ । अमेरिका लैजाने प्रलोभन देखाएर पीडितलाई घानासम्म पुर्‍याएर अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

अमेरिका र युरोपको सपना देखाएर प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म असुलेको पाइएको छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई विशेष टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डा चौकीबाट सोमबार पक्राउ गरी काठमाडौं ल्याएको हो ।

उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार