ललितपुर । पछिल्लो समय देशभरका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमत्तोमा नीतिगत भ्रष्टाचार भएको खुलासा हुँदै आइरहेको छ ।
ललितपुर जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमत्तोमा पछिल्लो समय नीतिगत भ्रष्टाचारजन्य गतिविधि गरेको ललितपुर निर्माण व्यवसायी संघले जनाएको छ । ललितपुर निर्माण व्यवसायीले यसका विरोधमा सम्बन्धित स्थानीय निकायमा उजुरी समेत हालेका छन् ।
पछिल्लो समय ललितपुरको महांकाल गाउँपालिका र कोञ्ज्योसोम गाउँपालिकाले भवन निर्माणका लागि टेण्डर आह्वान गर्दा नै आफू अनुकुलका ठेकेदारलाई पार्ने गरी टेण्डर आह्वान गिरी कार्य थालनी गरिसकेका छन् भने अर्को ठेक्काका लागि कोञ्ज्योसोम गाउँपालिकाले अर्को टेण्डर आह्वान गर्ने तयारी गरिरहेको बुझिएको छ । यस्तो नीतिगत भ्रष्टाचारजन्य गतिविधिको विरोधमा ललितपुर निर्माण व्यवसायी संघले महालक्ष्मी नगरपालिकामा उजुरी हालेका छन् भने केहीमा केही दिनभित्रै हाल्ने तयारी गरेको बुझिएको छ ।
महालक्ष्मी नगरपालिकाले भवन निर्माणका लागि २० करोडको ठेक्काका लागि टेण्डर आह्वान गरेको छ । सो टेण्डरमा कुनै पनि निर्माण व्यवसायी कम्पनीले सहभागी हुन नपाउने गरी क्राइटेरिया बनाई टेण्डर आह्वान गरेको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् ।
त्यसैगरी महांकाल गाउँपालिकाले पनि भवन निर्माणको लागि ७ करोडको ठेक्काको टेण्डर आह्वान गर्दा महालक्ष्मी नगरपालिकाले जस्तै गरी नीतिगत भ्रष्टाचार गरेको आरोप निर्माण व्यवसायीले लगाएका छन् । ललितपुरकै कोञ्ज्योसोम गाउँपालिकाले पनि भवन निर्माणको लागि १५ करोडको टेण्डर आह्वान बोलकबोलमा अन्य ठेकेदार कम्पनीले भागै लिन नमिल्ने खालको नीति बनाई आफ्ना नजिकका ठेकेदारलाई पार्ने गरी टेण्डर आह्वान गरेको ललितपुर निर्माण व्यवसायी संघ तथा व्यवसायीको आरोप छ ।
स्मरणीय छ, ललितपुरकै गोदावरी नगरपालिका र बागमती गाउँपालिकाले भवन निर्माणको क्रममा टेण्डर आह्वान गरी बोलकबोलका आधारमा बढी भन्दा बढी ठेकेदारहरुलाई सहभागिता गराई बोलकबोलकै आधारमा ठेक्का दिएको थियो । कोञ्ज्योसोम र महांकाल गाउँपालिकाले भने त्यस्तो नगरी आफ्नो नजिकको ठकेदारलाई भवन निर्माणको जिम्मा दिइसकेको तर महालक्ष्मी नगरपालिकाले अनुकुल हुने खालको अभिप्रायले टेण्डर आह्वान गरेको छ ।
टेन्डर आह्वान गर्दा बढी भन्दा बढी ठेकेदारहरुलाई सहभागिता गर्न नमिल्ने खालको टेण्डर निकाली ठेक्का दिएको ललितपुर निर्माण व्यवसाय संघ आवद्ध ठेकेदारहरुले जानकारी गराएका छन् । त्यसैले हामीहरु केही दिनमै महालक्ष्मी नगरपालिकाले भवन निर्माणका लागि निकालेको टेण्डरलाई लिएर सम्बन्धित निकायमा उजुरी हाल्ने तयारी गरिरहेको ललितपुर निर्माण व्यवसायी महासंघका पदाधिकारीले खोजतलासलाई बताएका छन् ।
ती पदाधिकारीका अनुसार महालक्ष्मी नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई समेत लत्याई अनावश्यक क्राइटेरिया निकालि ठेक्का निकालिएको गुनासो पोखेका छन् ।
त्यसैगरी ललितपुरका दक्षिणी भेगको मुख्य सडक मार्गको रुपमा रहेको सुनाकोठी सडक पिच भएको केही महिनामै खाल्डाखुल्डी भएको छ । सो खाल्डाखुल्डीका कारण कुनै पनि बेला गम्भीर दुर्घटना हुनसक्ने अवस्था छ । पिच गरेको एक वर्षसम्म पिच बिग्रिएको खण्डमा सम्बन्धित ठेकेदारले पुनः पिच गर्नुपर्ने सहमति हुने भए पनि यसतर्फ सम्बन्धित निकाय मौन रहेको पाइएको छ । लामो समय स्थानीयको विरोधपछि बल्लतल्ला पिच भएको सो सडक फेरि पहिलेको अवस्थामा नै आई धुलाम्मे र हिलाम्मे हुने अवस्था आउन लागेपछि स्थानीय चिन्तित बनेका छन् ।