दशकदेखि रोकिएको ठूला भ्रष्टाचार मुद्दाको धमाधम फैसला हुँदै

14.6k Shares

काठमाडौं । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा आय गणना विवादका कारण रोकिएको मुद्दाको सुनुवाइ धमाधम सुरु भएको छ । झन्डै एक दशकदेखि रोकिएका दर्जनौं भ्रष्टाचारका मुद्दा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको ‘भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको’ भन्दै परेको पुनरावलोकन निवेदनमा फैसला भएसँगै ‘हाइप्रोफाइल’का दर्जनौं मुद्दा सुनुवाइको बाटो खुलेको थियो ।

२८ असार २०८० सालमा न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्णइजलासले युवराज शर्माले दायर गरेको आय गणना गलत व्याख्या भएको दाबी गर्दै परेको रिटमा उनलाई दोषी ठहर गरेको हो । सर्वोच्चले दोस्रोपटक पनि दोषी ठहर गरेपछि उनी थप पुनरावेदनमा जान सक्ने बाटो पनि बन्द भएको छ । शर्माले आफ्नो आम्दानीको आय गणना गलत व्याख्या भएको दाबी गर्दै १२ जेठ २०७२ सालमा रिट दायर गरेका थिए ।

भ्रष्टाचार मुद्दामा सर्वोच्चको सक्रियता

शर्मालाई भ्रष्टाचार ठहर गरेसँगै सर्वोच्चले अन्य भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ । सर्वोच्च अदालतले आइतबार मात्रै पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसहसचिव राजभण्डारीमाथि २ करोड ९३ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको आरोप लगाइ ५ भदौ २०६२ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनीमाथि गैरकानुनी रूपमा २ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको ठहर गरेको थियो । विशेषले उनलाई एक वर्षको कैद सजाय सुनाएको थियो । भ्रष्टाचार ठहर भएको रकम जफत हुने आदेश गर्दै विशेषले उनलाई त्यति नै जरिमाना गर्ने आदेश पनि गरेको थियो । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार