काठमाडौं । भ्रष्टाचार, अकुत सम्पत्ति तथा पीआर प्रकरणमा दोषी देखिएर मुद्दा दायर गरिएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले आईटी क्षेत्रमा व्यापक भ्रष्टाचार गरी झण्डै पाँच अर्ब रुपियाँ आर्जन गरेको हुनसक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूले अनुमान गरेका छन् ।
विगत केही महिनादेखि अख्तियारको हिरासतमा रहँदै आएका विकलमाथि अनुसन्धान गर्न अख्तियारका अधिकारीहरूलाई ठूलो मिहिनेत गर्नु परेको र विकलको अकुत सम्पत्ति पत्ता लगाउन समेत निकै कठिन परिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ। अख्तियारका अनुसन्धान अधिकृतसँग विकलले पछिल्लो समयमा केही आक्रोशसमेत पोख्दै आएका छन्।
अख्तियारका एक अनुसन्धान अधिकृतले विकलको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भने– ‘मेरो भित्री गुदी त तपाईंहरूले के पत्ता लगाउन सक्नुहोला, जेहोस् बाहिर बोक्रा बोक्रा चाहिँ पत्ता लगाउनुभयो।’
एक अनुसन्धान अधिकृतका अनुसार विकलसँग रहेको सम्पत्तिको मुस्किलले २० प्रतिशत मात्रै पत्ता लगाउन सकिएको छ। विकलकै भनाइलाई आधार मान्ने हो भने पनि उनीसँग स्वदेश र विदेशमा गरेर झण्डै ५ अर्ब जतिको सम्पत्ति रहेको सहजै अनुमान लगाउन सकिन्छ अख्तियारका ती अनुसन्धान अधिकृतले भनाइ छ।
विकलले अमेरिका तथा सिंगापुरका विभिन्न सहरमा ठूलो परिमाणको रकम परिचालन गरेको हुनसक्ने आशंका गरिएको छ। अख्तियारले बुधबार मात्रै विकलले ६२ करोड १९ लाख १८ हजार ६ सय ८४ रुपियाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै अकुत सम्पत्तिमा मुद्दा दायर गरेको थियो । त्यसरी अकुत सम्पत्ति आर्जन गरेकोमध्ये झण्डै २९ करोड रुपियाँ सिंगापुर र अमेरिकाका बैंकहरूमा राखिएको फेला परेको थियो । आजको नेपाल समाचारपत्र दैनिकबाट