काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ।
उहाँलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि सिरोहियालाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।
सिरोहिया पक्राउ परेपछि विभिन्न राजनीतिक दल, सञ्चार सम्बद्ध संघसंस्थाहरूले कडा विरोध जनाएका छन्। थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका सिरोहियालाई मंगलबारै धनुषा पठाइएको छ।
यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले जिल्ला अदालत धनुषाको आदेश लिई पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएको बताइएको छ । सो जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानबिन गर्न माग गरिएको थियो।
सिरोहिया पक्राउपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्ता पक्षका दल नेकपा एकीकृत समाजवादी पार्टीसहितका राजनीतिक दलहरूले लोकतन्त्र र प्रेस तथा अभिव्यक्तिमाथि हमला भएको बताएका छन्। नेकपा एकीकृत समाजवादीले सिरोहिया पक्राउ पर्नुले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको टिप्पणी गरेको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट