तेहरान- इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकोप्टर दुर्घटनामा निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।
उनले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको बताए। संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालेको एक नेताले बताए।
आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गरे।
यसैबीच, होसेन अमिर–अब्दुल्लाहियानको दुर्घटनामा निधन भएपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ। उनले सेप्टेम्बर २०२१ देखि उपविदेशमन्त्रीका रूपमा काम गरेका छन्। समाचार संस्था अल जजिराका अनुसार कानी सन् २००७ देखि २०१३ सम्म इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव रहेका थिए।
इरानको सरकारी सञ्चारमाध्यमले आज ६३ वर्षीय रायसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अन्य सात जनाको देशको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा आइतबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएको पुष्टि गरेको छ। उक्त दुर्घटनाको इरानी राज्य मिडिया आइआरएनएले हेलिकप्टरको भग्नावशेष देखाउँदै रेड क्रिसेन्टले ड्रोन फुटेज साझा गरेको थियो।